म्याग्दी जिल्लाका विभिन्न क्षेत्र अहिले बाढी पहिरोले क्षत विक्षत भएको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को महामारीले भएको लकडाउनकै अवधिमा बैदेशिक रोजगारीबाट फर्केर बेनी बजारमा रहेको क्वारेन्टाइनमा १४ दिन बसेर घर जाँदै गर्दा एक युवाको गत सोमबार मृत्यु भयो । उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३ दाना काभ्रेका ३२ वर्षिय झलक पुनले अन्नपुर्ण २ भुरुङतातोपानीमा पहिरोमा मरेर ज्यान गुमाउनुभयो ।
१४ दिन सम्म बेनीमा रहेको क्वारेनटाइनमा बसेर कोरोना भाइरस परीक्षणका लागि पिसिआर टेष्ट गर्दा नेगेटीभ आएपछि घर जाने क्रममा घर नपुग्दै भलकले संसार छाड्नुभयो । गत असार २५ देखि परिरहेको अविरल वर्षाले गर्दा क्षतविक्षत भएको बस्ती अनि सडकहरु पार गर्दै गर्दा भुरुङमै पहिरोमा परेर क्वारेन्टाइनबाट सँगै फर्केका अर्का युवा भने मुस्किलले बाँचे । कोरोना संगको युद्ध जितेर मनभरी हजारौं सपना सजाएर जाँदै गरेका दुई युवा मध्ये एकले ज्यान गुमाए भने अर्काले मुस्कीलले आफूलाइ जोगाउन सके ।
अहिले उत्तरी म्याग्दी र हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने सडक खण्डमा पहिरोले बितण्डा मच्चाएको छ । बेनी–जोमसोम सडक खण्डको गलेश्वरमा पुल भत्किएको छ भने त्यस माथि गएपछि राहुपारे, तिप्ल्याङ, बेगखोला, भूरुङतातोपानी, दाना, काभ्रे भिर, घोप्टेभिर एवम् मुस्ताङको घाँसा तथा लेतेमा सडक अबरुद्ध छ । म्याग्दी भेक तर्फ भूरुङतातोपानीमा कालीगण्डकीले सडक कटान गरेपछि भिरमा खरघाँसमा झुण्डीएर यात्रा गर्न बाध्य छन् उत्तरी म्याग्दी तथा मुस्ताङका बासिन्दाहरु । काभ्रे र घोप्टे भिरमा बेस सहितै सडक कालिगण्डकीले कटान गरेको छ ।
‘घाँस समातेर यात्रा गर्नुपर्छ, धेरै ठाउँमा यात्रुले ज्यानकै बाजी राख्नुपर्छ’ अन्नपुर्ण गाउँपालिका–२ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले भन्नु भयो । उहाँले नागढुङ्गा, रुप्से झरना, काभ्रेभीर लगायतका स्थानमा पैदलमार्गबाट समेत आवतजावत गर्न नसकिने गरी सडक अवरुद्ध भएको बताउनुभयो ।
निरन्तर खस्ने ढुंगाले चोट लाग्ने गरेको बताउँदै गन्तब्यमा पुग्नु ठूलो यूद्ध जितेजस्तै भएको बताउनुहुन्छ मुस्तङका प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन । ‘बर्खामा यात्रुले सधै ज्यान गुमाउनुपर्छ,‘जोखिममा पैदल आवतजावत पनि रोक्नुपर्छ’ तुलाचनले भन्नुभयो । उहाँका अनुसार सडक कच्ची र साँघुरो भएकाले कटानबाट समेत छियाछिया भएको अवस्थामा जोखिपूर्ण यात्रा गर्नुर्पे अवश्था छ । कलिला बालबालिकालाई काखमा च्यापेर महिला समेत भीरको बाटो यात्रा गर्नुपर्ने बाध्यता रहेको छ भने बिरामीलाई आवतजावतमा निकै समस्या हुने गरेको छ ।
पैदलयात्रीको ज्यान गएपछि प्रहरीले जोखिमपूर्ण स्थानमा आवतजावतमा कडाई गर्न थालेको छ। ‘यात्रुलाई गन्तब्यमा पुग्न हतार छ, जोखिमपूर्ण स्थानमा प्रहरीले नै कडाई नगरे अर्को दुर्घटना हुन्छ’ जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कुँवरको भनाई छ । उत्तरी क्षेत्रमा रहेका प्रहरी चौकीलाई जोखिम मानिएका क्षेत्रमा यात्रुलाई प्रवेशमा रोक लगाउन समेत निर्देशन दिएको डिएसपी कुँबरले बताउनुभयो ।
अघिल्लो हप्ता अन्नपूर्ण–३ दानाको गुईठेभीरमा सडक भाँसिदा निर्माण सामग्री बोकेको टिपरसँगै चालक २७ वर्ष ज्ञानबहादुर पुनको मृत्यु भएको थियो । चालक भोलीपल्ट करिब ३ किलोमिटर तल नदि किनारमा भेटीए पनि टीपर भने अझै सम्म पनि भेटीएको छैन । लगातारको वर्षा, भिरालो जमिन, भूमिगत पानी, कमजोर भूबनावटले छिनछिनमा पहिरो जाने समस्याले पैदल यात्री जोगिएर हिड्न मुस्किल छ ।
७६ किलोमिटरको बेनी–जोमसोम सडकको धेरै स्थानका कालिगण्डकीको कटान तथा पहिरोले गरेको अवरोधका कारण गत असार २५ गते यता सडकमा सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।
मुस्ताङका प्रदेश सभा सांसद चन्द्रमोहन गौचन भन्नुहुन्छ –‘मर्मत सुरु भएको थियो,‘बाढीले भयानक क्षति पु¥याउदा काम राम्रो सँग हुन सकेको छैन ।’ हाल उत्तरी म्याग्दीका किसानले दूध तथा तरकारी समेत डोरीको सहायताबाट ढुवानी गर्नुपर्ने बाध्यता रहेको छ ।