अधिकांश विरामीहरु जब अस्पतालहरुमा पुग्छन् तब पहिला फर्म भर्नुपर्छ अनि अरु काम भन्ने गरिन्छ र त्यो आरोप यथार्थ जस्तै पनि देखिन्छ । तर म्याग्दीको बेनी अस्पतालमा आइपुगेकी प्रसव पिडाले छट्पटाएकी महिलालाई बचाउनका लागि निकै जोखिम मोलेर स्वास्थ्य कर्मीले अप्रेसन गरेर आमा र बच्चाको ज्यान जोगाएका छन् । सुत्केरी बेथा लागेर धौलागिरी अञ्चल अस्पताल बागलुङ पुग्दा डाक्टर छैनन् उपचार हुँदैन भन्दै हेर्दै नहेरी पोखरा जानका लागि पठाइएकी महिला बेनी आइपुग्दा बच्चाको एउटा खुट्टा निस्की सकेको थियो । फर्म भर्ने र अन्य औपचारीक कार्य नगरी सिधै उपचार गर्न तर्फ लागेर बेनी अस्पतालका चिकित्सकहरुले आमा र बच्चा दुवैको ज्यान जोगाएका छन् ।
बागलुङ नगरपालिका–८, सिगानाकी २१ वर्षीया आरती मल्ललाइ धौलागिरी अञ्चल अस्पताले उपचार सम्भव नहुने भन्दै कुनै चेकै नगरी पोखरा जानकालागि ठाएको थियो । आरती मालढुङ्गा हुँदै जब पर्वत नयाँपुल पुग्नु भयो सडक अवरुद्ध भएपछि फर्कनु सिवाय उहाँ सँग अर्को विकल्प थिएन । बागलुङबाट उपचार हुँदैन भनेर पठाएको हुनाले के गर्ने भन्ने सम्मको कुनै बिकल्पका बारेमा सोच्नै नसकेकी उहाँलाई त्यहाँ बाट फर्काएर बेनी अस्पताल ल्याए पछि बेनी अस्पतालमा आकस्मिक शल्यक्रियामार्फत आमा र बच्चा दुवैलाई सकुसल राख्न सकियो ।
सुत्केरी बेथा लागेपछि गत साउन ५ गते सोमबार राती १२ बजे अञ्चल अस्पताल बागलुङमा पुगेकी आरतीको त्यहाँ सामान्य चेकजाँच समेत नगरी सिधै पोखरा जानु भनेर रिफर पेपर समेत नदिइ पठाइएको थियो । त्यसपछि ट्याक्सीमार्फत पोखरा जाने क्रममा पवर्तको मालढुङ्गा नजिकै नयाँपुल पुग्दा सडक माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएपछि फर्कीएर बागलुङ नगएर बेनी अस्पतालमा उपचार गरिएको आरतीकी अमाजु (श्रीमान की दिदी) प्रतिभा शाहीले बताउनुभयो ।
उहाँले भन्नुभयो –‘बुहारीलाई बेथा लागेर बागलुङ अस्पतालमा लग्दा स्टाफनर्सले यहाँ डाक्टर हुनुहुन्न उपचार गर्न सकिन्न पोखरा लैजानु भनेकाले पोखरा जान खोज्दा बाटो बन्द भएपछि बेनी आएको हो ।’ शाहीले थप्नुभयो अञ्चल अस्पताल भएर पनि उपचार गर्नुको सट्टा अन्यत्र रिफर गर्दा बिरामी र आफन्तले सास्ती बेहोनुपरेको छ ।
राती करिब साढे २ बजे आइपुगेकी आरतीको सल्यक्रिया मार्फत डेलीभरी गराएको सल्यक्रियाको नेतृत्व गर्नुभएका डाक्टर मेडिकल अधिकृत डाक्टर सागर लामिछाने बताउनुभयो । अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य छ र अस्पतालको स्पेशल केयर युनिटमा राखेर स्वास्थ्यकर्मीको प्रत्यक्ष निगराीमा उपचार भैरहेको छ । डाक्टर लामिछानेले भन्नुभयो ‘सुत्केरी हुनका लागि बेनी अस्पतालमा आइपुग्दा बच्चाको खुट्टा निस्किसकेको थियो । त्यस्तो अवस्थामा बच्चा सामान्य अवस्थामा रहेको देखिएपछि तुरुन्तै अप्रेसन थिएटरमा लगेर अप्रेसन मार्फत बच्चा निकालिएको डाक्टर लामिछानेको भनाई छ ।
अञ्चल अस्पताल भएर पनि बागलुङमा सुत्केरी हुनका लागि आवश्यक सेवासुविधा नहुनु निकै दुःखद पक्ष भएको बिरामीको भनाइ छ ।
उपचारपछि स्पेशल केयर युनिटमा आराम गरिरहनुभएकी आरती मल्लले बागलुङ अस्पतालमा उपचार नपाए पनि बेनी आउँदा आफूले राम्रो स्वास्थ्य सेवा पाएकोमा खुशी लागेको बताउनुभयो । उहाँले नसोचेको सफलता मिलेको भन्दै उपचार गरेर आफू र बच्चाको स्वास्थ्य बचाएकोमा उपचारमा संलग्न डाक्टर तथा नर्सहरुप्रति आफू सदा ऋणि रहने बताउनुभयो ।
अहिले बेनी अस्पतालमा उपचाररत सुत्केरी महिला आफू गर्भवती भएपछि एकपटक पनि स्वास्थ्य संस्थामा गएर चेकजाँच नगरेको पाइएको बेनी अस्पतालले जनाएको छ । गर्भवती भएको चौथो महिलामा पहिलो पटक, छैठौं महिनामा दोश्रो, आठौंमा तेश्रो र नवौं महिनामा चौथो पटक गर्भवती जाँच गराउन पर्ने हुन्छ । कुनै पनि जाँच नगरीएको र बागलुङबाट अस्पतालले पनि कुनै चेकजाँच नै नगरी अन्यत्र रिफर गर्नुलाई अर्थपूर्ण तबरले हेर्नु पर्ने देखिन्छ । महिलाको आकस्मिक शल्यक्रियामार्फत छोरा जन्मिएको छ । महिला गर्भवती भएको ३५ हप्तामै बच्चा जन्मीएको हो । सामान्यतया स्वस्थ्य महिलाले ३७ हप्ता पछि जन्मनुलाई सामान्य अवस्था मानिन्नछ भने आरतीको सामान्य अवस्था पुग्नु भन्दा २ हप्ता पहिला नै सुत्केरी बेथा लागेको थियो ।
बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर सागर लामिछानेले समयमै अस्पतालमा आएको हुँदा आमा र बच्चा दुवैको ज्यान बचाउन आफूहरु सफल भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले अस्पतालमा समयमै बिरामी आउनु, नर्सहरुले तत्कालै खबर गरेको हुँदा अस्पतालको स्रोतसाधनको प्रयोगबाट गर्भवती महिलाको उपचारमा सफलता हात परेको बताउनुहुन्छ ।