सञ्जय दत्तको मुख्य भूमिका रहेको हिन्दी चलचित्र मुन्ना भाई एमबिबिएस निकै चर्चित छ । उपचार गर्नका लािग बिरामीलाई सुरुमा फर्म भर्न लगाउने अनि अन्य प्रक्रियामा लाग्ने जुन चिकित्सकीय नियम भनिएको छ त्यसले कुनै पनि मानिसको ज्यानै जान सक्छ भन्नेतर्फ ध्यानकेन्द्रीत पक्कै गर्दछ । उक्त चलचित्रमा पनि आत्महत्या प्रयास गरेको एक युवाको उपचार गर्नुभन्दा पहिला लामो लाममा बसेर फर्म भर्नका लागि आमा लालायित हुन्छिन् भने उनको छोरा छट्पटाइरहेको हुन्छ । सञ्जय दत्त अर्थात् मुन्नाले उक्त कार्यको प्रतिवाद गर्दै डाक्टरलाई घाइते बनाइदिएपछि डाक्टर तथा अत्महत्या प्रयास गरेका दुवै जनाको उपचार हुन्छ फर्म पछि भरिन्छ । त्यस चलचित्रले कागजी प्रक्रिया गर्नुपर्छ तर पहिला भनेको मानिसको ज्यान बचाउनु भन्ने नै हो । कुनै पनि मानिसलाई बचाउनै सकिएन भने उसका लागि भरेको फर्म वा नामदर्ता गरेर केही अर्थ लाग्दैन । पहिला जीवन अनि त्यसपछि मात्रै औपचारिकताको लागि कागजात निर्माण गरिनुपर्छ ।
धौलागिरी अञ्चल अस्पताल बागलुङले आफ्नोमा डाक्टर नभएकाले काम गर्न नसक्ने भन्दै हेर्दै नहेरी पोखरा रिफर गरेको गर्भवती महिलाको बेनी अस्पताल म्याग्दीका चिकित्सकको टोलीले आफ्नो पेशालाई नै दाउमा राखेर आमा बच्चा दुवैको ज्यान जोगाउने जुन काम गरे त्यो निकै राम्रो र जिम्मेवार नागरिक र पेशाकर्मीको काम हो । बागलुङ नगरपालिका–८, सिगानाकी २१ वर्षीया आरती मल्लको बेनी अस्पतालमा आकस्मिक शल्यक्रियामार्फत डेलिभरी गराइएको थियो । अस्पताल आइपुग्दाको अवस्थामा बच्चाको खुट्टा निस्किसकेको अवस्थामा डाक्टरले पेशाको बारेमा सोचेको र औपचारिक कागजात अनि अन्य प्रक्रियातर्फ लागेको भए के हुन्थ्यो होला ? खुट्टा निस्किएको अवस्था सामान्य होइन । सामान्यतयाः टाउको निस्कने अनि बच्चाको शरिर र खुट्टा निस्कने हो । तर बच्चा उल्टो भएकोले यस्तो अवस्था आएको भन्नेमा कुनै दुईमत छैन । चिकित्सकले यतिसम्म जोखिम मोलेका थिए कि महिलाको अन्य कुनै पनि टेष्टभन्दा बच्चा र आमालाई अलग गरेको खण्डमा दुवैलाई जोगाउन सकिन्छ भन्नेतर्फ मात्रै सोचे । महिलाको रक्त समूहको समेत परीक्षण नगरी जसरी अप्रेसन गरियो त्यो आमा र बच्चालाई कुनै पनि हालतमा जोगाउने प्रयास गरिएको थियो ।
बेनी अस्पतालमा योभन्दा पहिला पनि बागलुङकै सुत्केरी हुन नसकेकी महिलाको शल्यक्रिया गरेर आमा र बच्चालाई जोगाइएको थियो । धौलागिरी अञ्चल अस्पताल भनिदै गर्दा एकजना सुत्केरी हुनका लागि आएकी महिलालाई सामान्य औपचारिक परीक्षण पनि नगरी पोखरा जाउ भनेर अहिलेको अवस्थामा पठाउनु कुनै पनि हालतमा जिम्मेवार निकायको कार्यभित्र पर्दैन । पोखरा उपचारका लागि हिँडेकी स्वास्थ्य गम्भीर अवस्थामा पुगेकी महिला सडक अवरुद्ध भएर बेनी आइन र बेनीका चिकित्सकले आफ्नो पेशालाई नै जोखिममा राखेर भए पनि जसरी महिलालाई जोगाउने काम बेनी अस्पतालले गरेकोमा प्रशंसा गर्नैपर्छ । हुन त अस्पतालको काम उपचार गर्ने नै हो भन्ने पनि होलान् तर बेनी अस्पतालको मात्र काम हुने अञ्चल अस्पतालको जिम्मेवारी भित्रको काममा नपर्ने त हुँदैन होला । त्यसैले सबैले आफ्नो जिम्मेवारीभित्र पर्ने काम गर्न सकेमा हामीले राजा राम शाहलाई खोज्न सयौं वर्ष अगाडि फर्किनुपर्दैन । जिम्मेवारी पूरा गर्नेलाई सलाम !
Previous Articleसडक मर्मतपछि बेनी–दरबाङ सञ्चालन
Next Article बेनी जोमसोम सडकको यात्र युद्ध जितेजस्तै