देशैभर प्रकोपका रुपमा फैलिएको सलह किराले खाद्यान्न बाली खाएपछि किसानहरु मर्कामा परेका छन् । वर्षे सिजनमा खेत तथा बारीमा लगाएको मकै, कोदो, सिमी, भटमास, धान लगायतका खाद्यान्न बालीनाली सलहले खाने र नष्ट गर्न थालेपछि किसान समस्यामा परेका हुन् ।
दोस्रोपटक हिमाली जिल्ला म्याग्दीको विभिन्न स्थानमा सलह किराको प्रकोप बाक्लो रुपमा देखिएको छ । सलह किराको प्रकोपका कारण बेनी नगरपालिका–५, पुलाचौरको चिप्लेटीमा मात्रै २१ जना किसानहरुको खाद्यान्न बालीनाली नष्ट गरेको छ । चिप्लेटीको पयँपाट, काउले र चिप्लेटी टोलमा विभिन्न किसानको खाद्यान्न बाली नष्ट गरेको किसानहरुले गुनासो गरेका छन् ।
सलहले सबैभन्दा धेरै चिप्लेटी काउलेका डेकबहादुर कार्कीले बारीमा लगाएको मकै खेतीमा धेरै क्षति पु¥याएको छ । उनले विश्वभर फैलिएको कोरोनाले आक्रान्त पारेको अवस्थामा सलहले मकै खेती खाएपछि समस्या भएको गुनासो गरे । धानखेती भन्दापनि मकै खेतीको धेरै आश गरेको समयमा सलह किराले मकै बाली सखाप पारेपछि जहान, केटाकेटी पाल्न समस्या हुने दुःखेसो पोखे । उनले दुई रोपनीको जग्गामा लगाएको मकै खेती सलहले नष्ट गरेको जानकारी दिए ।
चिप्लेटीका अर्का किसान रामबहादुर कार्कीले पनि १ रोपनीमा लगाएको मकैखेती सलहले खाइदिएको गुनासो गरेका छन् । पश्चिम भेगबाट आएको सलह किराको बथानले मकैखेती नष्ट गरेको भन्दै उनले थाल बजाएर र आगो सल्काएर लखेट्दा पनि सलह नभागेको गुनासो गरे । पाँच, छ जना भएर सलह धपाउँदा पनि नभागेको बताउँदै उनले सलह किराले मकै, सिमीलगायत खाद्यान्न बाली नष्ट गरेको जानकारी दिएका छन् । सलहको ठूलो बथान आएको हुँदा लखेट्न नसकिएको उनको भनाइ छ ।
यसैगरी चिप्लेटी पयँपाटकै किसान सुमन कुँबरको पनि ३ रोपनीको खेतबारीमा लगाएको मकै, कोदो र धानखेती सलहले खाइदिएको छ । चिप्लेटीमा २१ जना किसानको २४ रोपनीको जग्गामा लगाएको खाद्यान्न बालीमा सलहले प्रत्यक्ष रुपमा क्षति पु¥याएको हो । सलहले क्षति पु¥याएपछि टोल विकास समितिका अध्यक्ष भोजबहादुर कार्कीको अध्यक्षतामा वैठक बसेर स्थलगत अनुगमन गरी आवश्यक क्षतिपूर्ति माग गर्ने निर्णय समेत गरिएको भाङ्ले पाखा सामुदायिक वन उपभोक्ता समितिका सचिव गणेशबहादुर कार्कीले जानकारी दिए ।
जिल्लाको बेनी नगरपालिकासहित ६ वटै स्थानीय तहमा सलह किराले वर्षे सिजनमा लगाएको मकैबाली, धानखेतीलगायत तरकारी बालीमा क्षति पु¥याएको छ । पुलाचौरको भीरमुनी, अवेचौर र अर्थुङ्गेको एकपाटेमा समेत सलहले खाद्यान्न बाली सपाख पारेको किसानहरुले बताएका छन् ।
सलह धानलगायत बालीको विनाश गर्ने एक जातको पतङ्ग, बालीनाली र बोटविरुवाको पातै समेत खाएर नाङ्गो पार्ने फट्याङ्ग्रा जस्तो उडुवा किरा हो । यसले एक वर्ग किलोमिटरभित्र एउटै समूहमा डेढ लाखदेखि ३–४ करोडसम्मको सङ्ख्यामा जम्मा हुने र बालीनाली एकैपटक नष्ट गर्ने गर्छ ।
Previous Articleरुप्से दैनिक ! १० श्रावण २०७७
Next Article सडक मर्मतपछि बेनी–दरबाङ सञ्चालन