जिल्ला प्रहरी कार्यालय म्याग्दीले विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड-१९ संक्रमण रोकथाम नियन्त्रणको लागि नेपाल सरकार गृहमन्त्रालयबाट लागू भएको स्वास्थ्य सुरक्षा मापदण्ड उलंघन गर्ने ४५ जनालाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गरेको छ ।
नेपाल सरकारले हाल करिब ३ महिना लामो बन्दाबन्दी(Lockdown)लाई खुकुलो बनाउने निर्णय गरे सँगै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि सामान्य आवतजावत, हिँडडुल तथा जोर-बिजोर प्रणालीमा प्राईभेट सवारी साधनहरूलाई समेत संचालन, व्यवसाय संचालन लगाएतका कार्य भईरहेको छ । सोही बमोजिम जिल्ला प्रहरी कार्यालय म्याग्दीले पहिलो चरणमा घर-घरमा पुगेर स्वास्थ्य सुरक्षा मापदण्डको बारेमा सचेत गराउने अभियान नै संचालन गरेको थियो । दोस्रो चरणमा माईकिङ गरि अनिवार्य रूपमा माक्सको प्रयोग गरिदिनुहुन आधारभूत स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पालना गरिदिनुहुन आम जनसमुदायलाई अनुरोध गरिएकोमा तेस्रो चरणमा सोको पालना नगरी संक्रमणको जोखिमलाई बेवास्ता गर्ने ४५ जनालाई नियन्त्रणमा लिएर कारवाही प्रकृया अगाडी बढाएको थियो । प्रहरीले आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय म्याग्दीमा पठाईएकोमा संक्रामक रोग ऐन २०२० बमोजिम मास्क प्रयोग नगर्ने ४४ जनालाई जनही एक सय रूपैँयाको दरले चार हजार चार सय रूपैँया तथा सार्वजनिक सवारीमा यात्रु बोक्ने सवारीलाई एक हजार रूपैँया जरिवाना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्सपेक्टर ध्रुव शर्माले बताए ।
स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्ने तथा मास्कको प्रयोग नगर्ने सबै जनालाई जिल्ला प्रहरी कार्यालयमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना सम्बन्धमा सामान्य सचेतनामुलक अभिमूखिकरण गरी प्रत्येक व्यक्तिलाई २/२ वटा माक्स समेत बितरण गरिएको छ ।
आमजनसमुदायलाई समेत स्वास्थ्य सुरक्षा मापदण्ड र कोभिड-१९ सम्बन्धि अनुशासनको पालना गरिदिनुहुन जिल्ला प्रहरी कार्यालय म्याग्दीले अनुरोध समेत गरेको छ ।