एस्पानियोलमाथि संघर्षपूर्ण जीत निकाल्दै बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि जित्ने होडमा आफूलाई कायम राखेको छ । यता, १–० ले पराजित भएको एस्पानियोल भने यो सिजन रेलिगेशनमा परेको छ ।
दोस्रो हाफको शुरुवातमा दुवै टोलीका एक–एक जना खेलाडीले रातो कार्ड पाएका थिए । भिडियो एसिस्टेन्टको रिभ्यूपछि बार्सिलोनाका युवा खेलाडी अन्सु फाती र एस्पानियोलका पोल लोजानोले रातो कार्ड खाँदै मैदान छाड्न बाध्य बने ।
लगत्तै लुइस सुवरेजले खेलको निर्णायक गोल गर्दै बार्सिलोनालाई तीन अंक दिलाएका थिए । यो सिजन लिगमा उनको यो १५ औँ गोल हो । उनी क्लबका लागि सर्वाधिक गोल गर्ने तेस्रो खेलाडी पनि बनेका छन् । उनी अघि सेजार रोड्रिग्वेज (२३२ गोल) र लियोनेल मेस्सी (६३० गोल) मात्र रहेका छन् ।
जीतसँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियलसँगको दुरी १ अंकमा झार्न सफल भएको छ । तर, शुक्रबार आलाभेसको आतिथ्य गर्ने रियलले जीत हासिल गर्दै चार अंकको अग्रतालाई पुनः कायम गर्न सक्नेछ ।
यता, पराजित बनेको एस्पानियोलको लिगमा कायम रहने आशा समाप्त भएको छ । तीन खेल मात्र बाँकी छँदा २४ अंकसहित टोली लिगको पुछारमा रहेको छ र सुरक्षित स्थानभन्दा ११ अंकले पछि परेको छ ।
अन्य खेलमा भिल्लेरियाले गेटाफेलाई ३–१ गोलअन्तरले पराजित गर्यो भने रियल बेटिसले ओसासुनालाई ३–० ले हरायो ।