शनिबार बिहान मृत्यु भएका गोरखाका कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् ।

जिल्ला सुरक्षा समितिको बैठकले लुदी र दरौंदीको संगमस्थलमा शव व्यवस्थापन पर्ने निर्णय गरेको थियो । गोरखा नगरपालिका–१२ र सहिद लखन गाउँपालिका–१ वक्राङको सीमामा पर्ने लुदी दोभानमा शव व्यवस्थापन गर्ने सूचना पाएदेखि नै स्थानीय भेला भएर विरोध गरेका हुन् ।
केही बेरमा लुदी दोभानमा शव लगेर व्यवस्थापन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द गुरुङले बताए । केही स्थानीय भेला भएर विरोध गरेपछि प्रहरी टोली परिचालन गरी सम्झाउने काम भइरहेको उनले बताए । प्रहरी निरीक्षकको कमाण्डमा जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको उनले बताए ।
पालुङटार घर भएका व्यक्तिको शव लुदी दोभानमा गाड्न उपयुक्त नरहेको भन्दै स्थानीयवासीले विरोध गरेका हुन् ।
बस्ती नभएको ठाउँमा शव व्यवस्थापन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘केही स्थानीय भेला भएका छन्, उनीहरुलाई सम्झाउँदै छौँ,’ उनले भने । गोरखा नगरपालिका र सहीद लखन गाउँपालिकाका प्रमुखलाई पनि शव व्यवस्थापन गर्ने ठाउँको बारेमा जानकारी गराइसकेको उनले बताए ।
कतारबाट फर्किएका पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको उपचारको क्रममा शनिबार बिहान गोरखा अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो । हरिराम उप्रेती/गोरखा