गीता मिजार
मलाई लाग्थ्यो म भन्दा अछुत जातको जन्म भएछ विश्वमा तर होइन रहेछ कोरोनाभन्दा पनि अझै घातक भाइरस त छुवाछुत पो रहेछ । लाग्थ्यो मलाई म पनि नेपाली हो, लिपुलेक र कालापानी पराइले खोसिरहँदा देशको लागि रगत उम्लिरहन्थ्यो, तर रुकुम हत्याकाण्डले मत पराई देशको नागरिक जस्तै नेपालमा शरण लिन आएझैं भान गरायो । सिमानामा गिद्धले सिनो लुछेझैं गरी देश लुछिरहँदा मैले बनाएको खुकरी बोकेर सिमानामा गएर तिनै गिद्धहरुको चुच्चो र नङ्ग्रा काटिदिउ कि भन्थे तर मलाई मेरै देशको सिमानाभित्र नै बन्धक बनाएर राखिएको रहेछ । लोकतान्त्रिक देशमा जातको अहमताले मान्छेले मान्छे मारिन्छ देशको धरोहर ढलाइन्छ भने यिनै जातको नाममा कलङ्क मच्चाउनेहरुलाई पनि मैले नै बनाएको खुकुरीले छप्काउने लोकतन्त्र किन आएन ?
मायामा सबै कुरा स्वीकार्य हुन्छ भन्थे तर जात मात्र त्यस्तो चिज रहेछ जसले मायालाई पनि अछुत बनाइदियो । नत यसलाई संविधानमा भएको हकले छेक्न सक्यो नत कानुनले नै । आजको युगमा पनि छुवाछुत नै सबै सकारात्मक पक्षको बाधक बनिरहँदा सभ्य समाजको बुद्धिजीवि भनाउँदाहरुलाई मानवरुपी स्वरुपभित्रको दानवरुपी मनले सम्बोधन गर्न मन लाग्छ । ठूला जात भन्नेहरु कसरी ठूला भयौ ? के छ ठूलो जात हुनेहरुको आधार ? कतिवटा सूचकहरु पार गरेपछि ठूलो जात भइने हो ? यस्ता प्रश्नको जवाफ कसले दिन्छ ? आज मलाई अर्थात् म जस्तो दलितलाई समाजले दिएको पानी नचल्ने उपनाम आकाशमा उड्ने चराचुरुङ्गीहरुमा पनि हुँदो हो कि ? गाईभैंसी, भेडा बाख्रामा पनि हुँदो हो कि, मलाई नियालेर अध्ययन गर्न मन लाग्यो । यदि ती पशुहरुमा पनि यस्तो खालको व्यवहार हुन्छ भने ठूला जात भन्नेहरुलाई पनि तिनै पशुको उपनाम दिन्छु म पनि । यदि त्यस्तो खालको विभेद पशुमा छैन भने ठूलो जात हुनुको एउटा सूचक यो पनि रहेछ जुन सूचकले समाजमा पानी चल्ने र नचल्ने भनि छुट्याएको हुन्छ ।
जातीय विभेदको युद्धमा नवराज मरे, सविता नेपालीले आहुती दिइन् यस्ता घटना त कति हो कति छन् । तर जातीय विभेदको युद्धमा मानसिक आहुती दिनेहरु सबै दलित नै बनिरहेका छन् । मलाई लाग्छ, दशवर्षे जनयुद्धमा पनि कोटा दिएर युद्धको मैदानमा दलितहरुलाई नै होमिइएको थियो । दलितलाई किनेर बन्दुक बोक्न पठाएका थिए, हतियार बनाउन लगाएका थिए, किनकी दलित त यो देशको नागरिक नै रहेनछ । मेरो अपेक्षा थियो दशवर्षे जनयुद्धले देशमा सबै किसिमको विभेद अन्त्य होस् तर देश टुक्र्याउने उद्देश्यले जनयुद्ध गरिएको भान गरायो । कामीले खुकुरी बनाइरहँदा जातले पाएको सिप भन्ने मेरो समाजले यस्तै खुकुरी बाहुनको छोरोले बनाउँदा वैज्ञानिक आविष्कार भन्छन्, सायद यिनै कुरामा फरक होला अन्धविश्वासमा रुमल्लिएको समाज र अत्याधुनिक र सभ्य समाज अनि यिनै समाजभित्र जन्मिएको सानो र ठूलो जात ।
मेरो मानसिकताको एक तिहाई भाग त यस्तै खालको जातीय विभेदको तनावमा जान्छ भने बाँकी रहेको मानसिकताले देशको पक्षमा ठूला जात जस्तै बोल्न सक्ने म कहिले हुने ? तर राज्यले पनि आरक्षण दिएर झन् दलित बनाइदिएको छ । पहिलो कुरा हरेक नागरिक नेपाली हो यो जात र ऊ जात पनि कहिल्यै विभेद नगरियोस् अनि सकारात्मक विभेद गरिरहन आवश्यक लाग्दैन ।
सरकारी जागिर खानको लागि नियुक्ति लिएर पहिलोपटक कार्यालयमा एउटा दलित छिर्दै गर्दा पहिलो प्रश्न यो हुन्छ तपाईं कोटाबाट ? ऊ खुलाबाट आएको किन नहोस् । उसको नामको पछाडि थपिएको थरले यो भन्न बाध्य गराउँछ, अभैm यतिसम्म कि कोटाबाट जागिर खानेहरुले देशको नीति नियम बिगारे, सेवा प्रवाह प्रभावकारी भएन । त्यसो भए भन्नुस ठूला जातको अहमता हुनेहरु, आजसम्म देशमा भ्रष्टाचार सबैभन्दा बढी कसले ग¥यो ? भ्रष्टाचार प्रमाणित भएर जेलमा को बस्यो ? देशको हरेक तहमा बर्चस्व कायम कसले ग¥यो ? मेरो देशमा त दलितहरु अलि अगाडि बढ्न थालेपछि चुरिफुरी रे चुप लागेर बस्दा दलित हो जात जनायो रे । म कुन ठाउँमा फिट छु ? भन्ने कुरा स्पष्ट रुपमा खुलाई दिएको भए पनि मलाई मेरो देशको सिमानाले बचाउँथ्यो या बचाउने थिएन थाहा त हुन्थ्यो नि होइन र ? अझै अस्थायी र करारमा जागिर खाने दलितहरुलाई त सिधै जवाफ यो हुन्छ क्षमता भए पो सरकारी जागिर खानु रे ? समाजमा रहेको हरेक किसिमको समस्याहरुलाई न्युनीकरण होस् वा र्निमुल पार्नको लागि सरकारको अनुमतिमा देश प्रवेश गरेका सरकारी तथा गैरसरकारी संस्थाहरुको हालत पनि उहि हो, आफै समाजको परिचालनमा हिँडेकाहरु नै छुवाछुतको चपेटामा पर्न बाध्य छौं भने कसरी हुन्छ समाजको परिवर्तन ? कुनै छुवाछुतको विरुद्धमा संर्घष गरिरहँदा भत्ता पचाउने कार्यक्रमको संज्ञा दिइन्छ । हात्तीको देखाउने र चपाउने दाँत जस्तै कानुन र त्यसको प्रयोगमा आकाश र धर्ती जस्तै फरक बनिरहेको छ । न स्वतन्त्रताको हक पाएँ मैले, न दलितको हक, न समानताको हक, न छुवाछुत तथा भेदभाव विरुद्धको हक । मान्छे मार्न पाइने र मान्छे मार्न नपाइने कानुन पनि बनाउन नपाइने भएको देशमा यो संविधानको भाग धारा र उपधाराहरु त दलित भनिएकाहरुको लागि मात्र पो बनेको रहेछ कि ? होइन भने देशको सकारात्मक विकासको पक्षमा लँडाइ गरिरहँदा झन् उसैलाई लास बनाइन्छ, उसैको विरुद्धमा खुलेआम र्चकाचर्की बहस गरिन्छ । मान्छे मारिरहँदा पनि कानुनको सीमाभित्र राखिँदैन । उल्टै आफ्नो जात र औकातमा बसेको भए यस्तो हुने थिएन भनि सवाल–जवाफ गरिन्छ ।
म भन्छु एकचोटी युद्धको अवसर देउ सरकार, लोकतन्त्रको उपयोग गर्न देउ सरकार, अनि म पनि मैले नै बनाएको हतियार बोकेर मेरो विरुद्ध लाग्नेहरुको घाँटी रेट्छु अनि बल्ल देशको लागि आहुती दिन राजी हुनेछुु । होइन भने नेपाली नागरिकको कात्रो दलितमाथि किन ओढाइयो, देशभित्रै जातीय विभेद किन गरियो ? यो देश त मेरो पनि त हो नि होइन र ? सिमाना जोगाउन मैले पनि त प्राण त्याग गरेको छु । तिम्रो देशमा म खेताला बनेर काम गरेको त होइन श्रमिक पाएर छुट्नलाई । तर किन म माथि यति धेरै विभेद ? सरकार सक्छौ भने मेरो पनि देश हो भन्ने भावना जगाइदेऊ होइन भने जति पुग्छ उति मेरो देशको भाग अंश पनि लगाइदेऊ म जसरी प्रयोग गर्न सक्छु सक्छु ।
म चाहन्छु, सतीप्रथा अन्त्य गर्ने जस्तै चन्द्र शमशेर जन्मियोस् तर, खोई र सती त सबै जातको जान बाध्य हुन्थे र पो अन्त्य गरे छुवाछुत त मेरो मात्र समस्या हो । यदि छुवाछुत पनि सबै नेपालीलाई विदेशी नागरिकले गर्ने थिएभने आजसम्म नाम निसान पनि हुने थिएन यो कु प्रथाको । म आफू दलित भएर नेपाली नागरिक बनिरहँदा गर्भदेखि नै अछुतको संज्ञा पाएको छु । भ्रष्टाचारले देश खायो भनिरहँदा छुवाछुतको तुलनामा त भ्रष्टाचार त कान्छो भाई पनि होइन जस्तो लाग्छ । छुवाछुतले कति मानसिक पीडा दिएको छ कति सामाजिक पीडा दिएको छ, न माथि उठ्ने अवसर दिएको छ न समाजमा म यो हो भनेर आफ्नो पहिचान दिइएको छ । दलित भनिएकाहरु त केबल जनगणनामा दलितको सङ्ख्या जनाउने टाउको मात्र बनेको छ, जसले गर्दा पछाडि पारिएका वा परेका वर्गको नाममा बजेट विनियोजन गरेर प्रयोगविहिन र उपलब्धिविहिन हुनेबाहेक अरु हुन सकेको छैन ।
ठूला जात भनाउँदाहरु हो मलाई लाग्थ्यो अब त कोरोनाको संक्रमणले छुवाछुत विरुद्धमा धेरै ठूलो पाठ सिकायो तर खोई त ? अझै पनि तिमिलाई ठूलो जात भएकोमा अहमता छ है ? दुई महिना अछुत भएर बस्दाको पीडाले कति मनहरुले आत्महत्या गरे, कति तनहरुले आत्महत्या गरे तर अझै किन सोच आएन सदियौंदेखि दलित भनिएकाहरुको कति तनको दाहसंस्कार भए होलान् मनको त कुरै नगरौं । जम्मा दुई महिना मात्र अछुत भएर बस्दा देशको अर्थतन्त्र नै डामाडोल भयो र पनि हामीलाई स्वीकार्य छ किनकी यो मेरो देशको सााझा समस्या हो भन्ने मलाई लाग्छ । तर सदियौंदेखि महामारीको रुपले बितण्डा मच्चाएको छुवाछुतलाई किन सामान्य मानिरहेको छ यो देशले ? छुवाछुतको विरुद्धको अभियानमा थोरै बजेट खर्च गरौं नत भन्दा पनि किन आनाकानी गरिरहन्छ ।
कोरोनाले केही पाठ सिकाएन, संविधानको कार्यान्वयन भएनन् त सभ्य समाजका बुद्धिजीवि भनिएकाहरुको मानसिकता नै परिर्वतन भयो ? परिवर्तन त केबल अक्षरमा भए, लवाइखवाइमा भयो, जातीय तथा वर्गीय विभेद हिमशिला भई अदृश्य बनेर दुर्घटना गराउनको लागि थपिँदै गयो र पनि सहेर बस्न बाध्य म अनि म जस्तै दलित उपनामको पशुरुपी मानवको संज्ञा पाएको कामी, दमाई, सार्की आदी इत्यादि ।
सर्लक्क परेको जिउडाल, लवाइखवाई राम्रो भएको एउटा दलित केटो होस् या केटी नामसँगै थर जोड्दा कानेखुसी सुरु हुन्छ कस्तो ठूलो जात जस्तै राम्रो है, जब कुनै ठूलो जात भनिएकाहरुको व्यवहार अलि निच हुन्छ नि उसलाई सिधै कस्तो कामी दमाइले जस्तो जात जनाएको रे, मेरो पहिचान मेरो देशले के दियो, मेरो समाजले के दियो, म कस्तो भएर हिँड्दा, के खाँदा, के गर्दा समाजमा मेरो शरिरले ज्युँदोको अनुभूति गर्छ ? मेरो विरुद्ध वर्षौंवर्ष बोलिरहँदा र निच व्यवहार ममाथि गरिरहँदा पनि मैले समाजको एकतालाई सम्झिएको थिएँ, सम्झेको पनि छु तर समाजको हितको लागि समाज परिर्वतनको लागि बोल्न खोज्दा प्राणको आहुती दिन्छन् भने आफ्नो व्यक्तिगत हितको लागि एउटा दलित बोलेको भए आफ्नो मात्र ज्यान त के सदियौंसम्म सिङ्गो वंश नै नाश हुने पक्का हुनेछ, इतिहासहरुमा दलित भन्ने नाम मात्र कथामा सीमित हुनेछ ।