कृष्ण कँडेल
बागलुङ, २५ कात्तिक – गाविसैपिच्छे आ–आफ्नै मागसहित ज्ञापनपत्र बुझाउने क्रम बढेपछि बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ मा स्थानिय निकायको सिमांकनमा बढी किचलो देखिएको छ । कात्तिक १९ गते जिल्ला प्राविधि समितिले गाउँपालिका प्र्रस्ताव गरेका बुर्तिबाङ, राजकुत, बोबाङ, अधिकारीचौर, भिमगिठे र दर्लिङलाई जुनसुकै हालतमा नगरपालिका बनाउनुपर्ने भन्दै बुधबार ज्ञापनपत्र बुझार्ईएको छ ।
बागलुङ जिल्लाको निर्वाचन क्षेत्र ३ को प्रशासनिक तथा व्यपारिक केन्द्र किन नगरपालिका बन्न सक्दैन ? नेताहरुले प्रश्न गरेका छन् । ३ लाख जनसंख्यालाई बस्ती बसाउने गरि मध्यपहाडी लोकमार्गमा बन्ने नमुना शहर अन्र्तगत ५० रोपनी जग्गा खरिद गरि काम सुरु भएको छ ।
प्रस्तावित जिल्ला अस्पताल, क्याम्पस, ६ ओटा बैंक, कबर्डहल, मध्यपहाडी लोकमार्ग, प्रस्तावित उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना लगायतका पुर्वाधार भएकाले नगरपालिका बन्न कुनै समस्या नरहेको स्थानियको भनाई छ ।
यो प्रस्तावमा अधिकारीचौरबाहेक अरु गाविसको असहमति छ । तर जनसंख्या पुग्ने भएकाले प्रस्तावित ६ गाविसलाई कुनैपनि हालतमा नगरपालिका बनाउनुपर्ने भन्दै माग बेवास्ता गरेर गाउँपालिका नै बनाईए कडा अन्दोलनमा जाने चेतावनी दिएका छन् ।
बोबाङका राजनीतिक दलको अगुवाईमा अधिकारीचौर र निसीलाई मिलाएर गाउँ पालिका बनाउनुपर्ने दबाव दिएका छन् । तिनओटै गाविसको सर्वदलिय बैठक गरि गाउँपालिका बनाउने निर्णय भएको भन्दै नेकपा एमाले क्षेत्रीय सदस्य बोबाङका हरि घर्तीले भौगोलिक रुपमा विकट गाउँका नागरिकलाई सेवा प्रवाहमा सजिलो बनाउनकै लागि संघियता र स्थानिय निकाय पुनसंरचना गरिने हुँदा जुनसुकै अवस्थामा तिन गाविसको गाउँपालिका बनाएरै छोड्ने बताए ।
यता निसीसँग बोहरागाउँ, देविस्थान र राजकुतलाई पनि समेटेर निसीखोला गाउँपालिका माग गर्दै चारै गाविसको सर्वदलिय टोलीले देविस्थानको वडा नम्बर–९ खाडुलाई केन्द्र मान्ने सहमति सहित ज्ञापनपत्र बुझार्ईएको छ । भुगोल, जनसंख्याका सबै मापदण्डले निसीखोला गाउँपालिका बन्न योग्य रहेको नेपाली काँग्रेस जिल्ला सदस्य तारानाथ शर्माले बताए ।
निसीखोला गाउँपालिकामा जाने कि बुर्तिबाङ केन्द्र हुने विषयमा राजकुतका दल विभाजित छन् । राजकुत काँग्रेसका सभापति तेजेन्द्रविक्रम कुँवर, एमालेका गाविस अध्यक्ष लालविर लाप्चनसहित अन्य पार्टिका नेता राजकुतलाई बुर्तिबाङ केन्द्रमा राख्नुपर्ने भन्दै बुर्तिबाङको डेलिकेशन टोलीमा सहभागी भएका छन् ।
तर काँग्रेस जिल्ला सदस्य प्रकाश कुँवर र राजकुत माओवादी केन्द्रका कृष्ण पुन लगायत निसीखोला गाउँपालिका माग गर्दै निसीखोलाकै डेलिगेशनमा सहभागी देखिए । अझ रोचक कुरा त के भने राजकुत काँग्रेसका सभापतिले देविस्थान केन्द्र हुने निसीलोला गाउँपालिकामा जाने संस्थागत निर्णय विपरित बुर्तिबाङ नगरमा जान लविङ गरेको आरोपमा उपसाभापति लालबहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकले हटाउने निर्णय गरेको खबर आएको थियो ।
सभापति हटाउने बैठकको अध्यक्षता गरेका उपसभापति कँवर कै अध्यक्षतामा कार्तिक २२ गते राजकुतको फेरी अर्को सर्वदलिय बैठकले बुर्तिबाङ नगरपालिकामा जाने निर्णय गरेर बुर्तिबाङकै टोलीसँग डेलिकेशन गएको सभापति तेजेन्द्र कुँवरले दाबी गरे । स्थानिय निकाय गठनका सम्बन्धमा बारम्बार फरक–फरक निर्णय हुने गरेको भन्दै भिमगिठे, दर्लिङ, ग्वालीचौरका दलले ईलाका नम्बर–११ मा पर्ने यि तिनसहित जलजला र दगातुन्डाँडा गाविसलाई समेटेर गाउँपालिका बनाउन माग गरेका छन् ।
दर्लिङका दलले भौगोलिक रुपमा दुर्गम रहेकाले बुर्तिबाङ पायक नपर्ने, विकासका पुर्वाधार पर्याप्त नभएको र नगरपालिका बनेपछि उल्टै महँगो कर तिर्नुपर्ने भन्दै यसअघि प्रस्तावित बढिघाट गाउँपालिका उपयुक्त रहेको दाबी गर्छन् । यता रणसिंहकिटेनीले भने ईलाका नम्बर–९ का पाण्डखानी, सिसाखानी र रिघासँग ४ गाविसको गाउँपालिका बनाउन माग गरेको र त्यसो नभए ग्वालीचौर सहितको केन्द्रमा जाने मत राख्ने गरेको बताईन्छ ।
दगातुन्डाँडाले खर्बाङ केन्द्र बनाउनुपर्ने माग गर्दै आएको छ । खर्बाङ केन्द्रका लागि दगा सहितका गाविसले यसअघि सडक अन्दोलन नै गरेका थिए । भिमगिठे, दर्लिङ र ग्वालीचौरले अपायक पर्ने भन्दै खर्वाङ केन्द्र नमान्ने बताउछन् । यि चार गाविसको विचमा केन्द्रको बार्गिनिङ हुँदै आएको छ ।
Previous Article२५ कात्तिक २०७३, ढोरपाटन दैनिक
Next Article साहित्यकार न्यौपाने र अधिकारी पुरस्कृत