कारागार कार्यालय डिल्लीबजारमा कैदीबन्दी बीच झडप भएको छ । झडपमा तीन जना कैदीबन्दी घाइते भएका छन् ।नाइके परिवर्तन गर्नुपर्ने माग गर्दै भएको आन्दोलन झडपमा परिणत भएको थियो । झडपमा ३ जना घाइते भएको र एकजनालाई अस्पताल लगिएको स्रोतले बताएको छ ।
कारागार भित्र रहेको एक ब्लकका नाइके गोकुल गिरीले अन्य कैदीबन्दी माथि अत्याचार गरेको भन्दै नाइके परिवर्तन गर्न माग गर्दै कैदीबन्दी बीच आन्दोलन भएको थियो । आन्दोलनमा गिरी पक्षधर र अन्य कैदी बन्दीबीच झडप भएको थियो ।
कारागारभित्रै हाल नाइके रहेका गोकुल गिरीले क्यान्टिनसमेत चलाएका थिए । क्यान्टिन चलाए पनि अहिले बाहिरबाट मानिसहरु जान नपाएको र उनीहरुले भित्रै गरेको कामबाट पनि पैसा नआएकाले क्यान्टिनमा खान नपाएपछि कैदीहरूले आन्दोलन गरेका थिए ।नाइके गिरीले क्यान्टिनबाट उधारो दिन नसक्ने भन्दै उधारो बन्द गरेपछि कैदी बन्दीहरुले खाजा खान नपाएको कारागारमा कार्यरत एक कर्मचारीले बताए । क्यान्टिनबाट खाजा खान नपाएपछि उधारोमै खान पाउनुपर्ने माग उनीहरुले गरेका थिए । नाइके गिरीले उधारो बन्द गर्दै कैदी बन्दीमाथि कुटपिट तथा अत्याचार गर्ने गरेपछि झडपको स्थिति आएको स्रोतले बताएको छ ।
बिहान ९ बजेर ४५ मिनेटमा झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो । त्यसलगत्तै कैदीबन्दीको माग बमोजिम नाइके गोकुल गिरीलाई अर्को ब्लकमा सरुवा गरेपछि अहिले स्थिति सामान्य बनको स्रोतले बताएको छ ।
Source: ratopati