नारायणी अस्पतालबाट नेशनल मेडिकल कलेजमा स्थानान्तरण गरिएका सात मृगौला पीडितको मृत्यु भएको छ ।
नारायणी अस्पताललाई कोरोना अस्पताल बनाइएपछि मृगौलाको डायलासिस गराइरहेका ४० बिरामीलाई नेशनल मेडिकल कलेज सारिएको हो । अस्पताल सारिएको एक सातामा यति धेरै बिरामीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा, वीरगन्ज १२ मुर्लीकी ४५ वर्षीया नाशरिन बानो, वीरगन्ज १५ लक्ष्मणवाका ६० वर्षीय नागेन्द्र झा, पर्सा भौराटारका २४ वर्षीय कृष्ण ठाकुर, रौतहट गौरकी ५० वर्षीय तलबुन नेशा र रञ्जित मण्डल, बारा अमवाका ६० वर्षीय नन्दलाल महतो, सर्लाहीका ३५ वर्षीय अजय कार्की छन् । मृतकका आफन्तले डायलासिसमा लापरबाही गरिएको आरोप लगाएका छन् ।
। नेशनल मेडिकल कलेजका निर्देशक डा. प्रमोद सर्राफले भने उपचारमा कुनै लापरबाही नभएको दाबी गरे । अस्पतालसँग ४० जनाको डायलासिस गर्ने क्षमता भए पनि हाल ९० जनालाई सेवा दिइरहनुपरेका कारण केही समस्या आएको उनको भनाइ थियो ।