काठमाडौँ, २५ कात्तिक-नेपाली कांग्रेसको नगर सभापतिहरुको राष्ट्रिय सम्मेलन १५ बुँदे घोषणा पत्र जारी गर्दै बिहीबार सकिएको छ। काभ्रेको बनेपामा समापन कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले अवस्था र परिस्थिति अनुसार नेपाली कांग्रेस पार्टीको विधान संशोधन गर्नुपर्ने बताए। ‘पार्टीको विधानमा धेरै समावेश गर्नुपर्ने विषयहरु छन्, हामीले पार्टीको विधानलाई परिस्थिति अनुरुप संशोध नगर्न लाग्नुपर्छ’ उनले भने।
नगर सभापतिहरुको सम्मेलनले नेपाली कांग्रेस पार्टीलाई थप मजबुत बनाउनुपर्ने उल्लेख गर्दै अरु विषयहरुमा समेत आवश्यक परिमार्जन गर्न पार्टीको ध्यानाकर्षण गर्ने बताएको छ। कांग्रेस पार्टीलाई थप मजबुत बनाउन स्थानीय तहको सुदृढीकरण गर्नुपर्ने, नगर कार्यसमितिको अधिकारलाई फराकिलो बनाउनु पर्ने र पार्टीभित्रको अन्तर नगरसमितिबीचको समन्वयात्मक भूमिकालाई प्रभावकारी बनाउनुपर्ने लगायतको विषयलाई जोडदारका साथ उठान गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ।
घोषणापत्रमा पार्टीभित्रको स्थानीय तहको विभागहरु शिघ्र निर्माण गर्नुपर्ने, २०७३ साल चैत्र महिनाभित्रमा स्थानीय तहको निर्वाचन गर्ने मिति निर्धारण गर्न आवश्यक पहल गर्नुपर्ने, स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवारको सिफारिस वडा समिति र निर्णय गर्ने अधिकार नगर कार्य समितिलाई दिनुपर्ने उल्लेख गरिएको छ।
पार्टीको विधान संशोधन गरी नगर सभापतिहरु पदेन रुपमा महाधिवेशन प्रतिनिधि, क्षेत्रीय समिति र जिल्ला कार्य समितिमा सदस्य रहने ब्यवस्था गर्नुपर्ने, नगर सचिव र कोषाध्यक्ष क्षेत्रीय समितिको पदेन सदस्यमा राख्नुपर्ने, नगरपालिका क्षत्रेभित्रका सम्पूर्ण सरोकारवाला निकायहरुको निर्वाचनमा आवश्यक समन्वय र उम्मेदवार तय गर्ने जिम्मा नगर समितिलाई दिनुपर्ने पनि घोषणा पत्रमा उल्लेख गरिएको छ।
भूकम्प अति प्रभावित र प्रभावित जिल्लामा सर्वेक्षणका नाममा भएको बेइमानीको घोर आपत्ति र खेद ब्यक्त गर्दै सरकारले तत्काल पुनः सर्वेक्षण गरी राज्यबाट पाउनुपर्ने सुविधा यथाशिघ्र प्रदान गर्नुपर्ने, हिमाल–पहाड–मधेस र तराईमा बाढी पहिरो एवं आगलागीबाट भएको क्षतिको अनुगमन मुल्याङ्कन गरी भूकम्प पीडित सरहको सहयोग उपलब्ध गराउनुपर्ने पनि माग गरिएको छ।
प्रदेशको राजधानीको तय गर्दा सबै जिल्लाका नगर सभापतिहरुको सुझावलाई समेत ध्यानमा राखी मध्यभागमा पर्ने सुविधाजनक हुने गरी तोक्नुपर्ने, सुकुम्बासी–मुक्त–कमैया हलियाहरुको स्थायी बसोबासको ब्यवस्था मिलाउन माग गर्नुपर्ने, सबै तहका निर्वाचनमा न्युनतम ३ प्रतिशत थ्रेसहोल्डको ब्यवस्था गर्नुपर्ने, पार्टीको सार्वजनिक कार्यक्रमको कार्यविधि र मर्यादाक्रमको सूचि नगर समितिलाई दिनुपर्ने पनि घोषणापत्रमा उल्लेख गरिएको छ।
१५ बुँदे घोषणापत्र पारित गर्दै सकियो कांग्रेस नगर सभापतिहरुको सम्मेलन
Previous Articleहङकङ बजारमा आगलागी हुदाँ ५ करोडको क्षति
Next Article २०७३ कात्तिक २५ गते बिहीबारको राशिफल