पोखरा, २५ कात्तिक -पोखराको पृथ्वीचोकस्थित हङकङ बजारमा गएराति आगलागी हुँदा २९ वटा सटर जलेर नष्ट भएका छन् । विद्युत सर्ट हुँदा भएको आगलागीमा करीब ५ करोडको क्षति भएको हङकङ बजार व्यवस्थापन समितिले जनाएको छ । हङकङ बजारको ‘बि’ ब्लकमा पर्ने सबै सटर ध्वस्त भएको छ ।
नजिकैको अर्को व्लकका सामानमा समेत आंशिक क्षेति पुगेको छ । आगलागी भएर ध्वस्त भएको व्लकमा लत्ता कपडा, भाँडाकुँडा, जुत्ता तथा खाद्यान्नका सामानहरु रहेको सटरहरु रहेका थिए । ती सबै जलेर नष्ट भएका छन् । अर्को नजिककैको व्लकमा तरकारी लगायतका सटरहरु थिए । त्यहाँ पनि आंशिक क्षति भएको हो ।
आगलागी समयमा नियन्त्रणमा लिन नसक्दा बढी क्षति भएको व्यवसायीले बताएका छन् राति साढे १० बजे सटर नम्बर ९६ ‘बि’ मा रहेको मोवाइल पसलबाट सुरु भएको आगो मध्य रात करीब २ बजेमात्र नियन्त्रणमा आएको थियो ।
आगलागी सुरु भएलगत्तै दमकललाई खबर गरिएपनि ढिलागरी मात्र दमकल आएको ब्यबसायीले बताएका छन् । फोन गरेर दमकललाई खबर गरेपनि नआएपछि ब्यबसायी आफै ट्याक्सीमा गएर दमकल ल्याउनुपरेको थियो । दमकल कहाँ हुन्छ समेत थाहा नपाएका व्यवसायीहरु आत्तिएर नजिकैको गण्डकी मेडिकल कलेज पनि पुगेको सुरक्षा गार्डले बताएका छन् । दमकल आउन आधा घण्टा भन्दा बढी ढिला गर्दा क्षति धेरै भएको ब्यबसायी सोमलाल विश्वकर्माले बताए ।
सशस्त्र प्रहरीको कालिका गणको अग्नी नियन्त्रक टोली, वडा प्रहरी कार्यालय बैदाम, नेपाली सेनाको फुलवारी व्यारेकको टोलीले स्थानिय सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । हङकङ बजार पोखरा उपमहानगरपालिकाले फुटपाथका व्यापार हटाएर साना ब्यापारीहरुका लागि स्थापना गरेको बजार हो । चार वर्षअघी स्थापित यो बजार पछिल्लो क्रममा राम्रो ब्यापार गर्ने बजारका रुपमा चर्चित छ ।