अर्थमन्त्री डा. युवराज खतिवडाले रोग र भोकबाटै लड्न केही उद्योगमा खुकुलो गर्नु परेको बताएका छन् । प्रतिनिधिसभामा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा उठेको सवालको जवाफ दिँदै उनले भोकबाट लड्न लकडाउनमा पनि केही उद्योग खोलिएको उल्लेख गरे । उनले केही सांसदले अहिले स्वास्थ्य नै सबै कुरा भएकाले केही उद्योग खोलेकोमा विरोध जनाएपछि खतिवडाले सो विषयमा स्पष्ट पारेका हुन् ।
उनले भने, ‘आधारभूत स्वास्थ्य सेवा र शिक्षामा राज्यको भूमिका हुनुपर्छ त्यही आधारबाट बजेट अघि बढ्ने छ । रोग र भोक सँग लड्नुछ यसका लागि पनि आर्थिक क्रियाकलाप अघि बढाउँनै पर्छ । आर्थिक क्षेत्र अगाडी बढाएन भने रोजगार कसरी सृजना हुन्छ ? काम लगाएर राहत दिन पनि आर्थिक कृयाकलाप बढाउँनुपर्छ ।’
आर्थिक कृयाकलाप परिचालित हुने बेला कोरोना आएको पनि उनले उल्लेख गरे ।
खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले ल्याउन लागेको बजेट परम्परागत नभएको पनि दाबी गरे ।
सांसदहरुको सुझाव तथा सल्लाहको उत्तर दिँदै मन्त्री डा.खतिवडाले बजेट परम्परागत नभएर सांसदहरुको टिप्पणी गर्ने तरिका परम्परागत भएको बताए ।
प्रतिउत्तरमा मन्त्री खतिवडाले आगामी वर्षको बजेट आफ्नो आधार सिद्धान्त र प्राथमिकतामा नै आउने र अहिलेको कोरोनालाई सम्बोधन गर्ने गरिनै आउने जनाउँदै कसैलाई पनि चिन्तित नहुन आग्रह गरे ।