कपिलवस्तु, १५ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएसँगै कपिलवस्तु जिल्ला सिल गरिएको छ ।
जिल्ला सुरक्षा समितिको सोमबारको बैठकले आगामी ५ जेठसम्मका लागि जिल्ला सिल गर्ने निर्णय खगरेको हो ।
कपिलवस्तुमा भारतबाट आएका १० जनामा आइतबार कोरोना पुष्टि भएको थियो । भारतबाट आउने क्रम अझै जारी रहेकाको र संक्रमणको महामारी फैलन सक्ने भएकाले आवतजावत रोक्न सिल गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार पूर्वपश्चिम राजमार्गमा भएर गुड्ने अत्यावश्यक खाद्यान्न ढुवानी, एम्बुलेन्स, दूध, पानी, पेट्रोलियम ढुवानीलगायतका सवारी साधन भने सञ्चालनमा रोक लगाइएको छैन ।
तर, जिल्लाभित्र सञ्चालन हुने सबै प्रकारका सवारी साधन, उद्योगधन्दा र विकास निर्माणका काममा भने पूर्ण प्रतिबन्ध गरिएको छ । दैनिक उपभोग्य वस्तु खरिदका लागि भने बिहान ७ बजेदेखि ९ बजेसम्म दुई घण्टा छुट्याइएको छ ।