नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली भूमिमा भएको अतिक्रमणबारे तत्काल भारतसँग भिडियो वार्ता गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् ।
नेकपा विदेश विभाग प्रमुखसमेत रहेका नेपालले आइतबार विज्ञप्ति जारी गर्दै महामारी अन्त्यपछि मात्र समस्या समाधान गर्ने रोच नराख्न आग्रह गरेका हुन् ।
भारतले गत ४ नोभेम्बरमा राजनीतिक नक्सा जारी गरेपछि नेपालले त्यसको प्रतिवाद गर्नुका साथै उक्त विषयमा कुरा गर्न विदेश सचिवस्तरीय बैठकका लागि ताकेता गरिरहेकामा त्यसलाई बेवास्ता गर्दै विश्व नै कोभिड–१९ महामारीका विरुद्ध लडिरहेका बेला भारतले नेपाली भूमिबाटै चीनको मानसरोवर बाटो निर्माण गरी उदघाटन गर्नु अत्यन्त दुःखद र आपत्तिजनक रहेको नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा नेता नेपालले यसबाट दुई देशबीचमा यसअघि भएका सम्झौता र सहमतिहरुको गम्भीर उल्लंघन हुनुका साथै नेपालको सार्वभौमसत्ता र अखण्डतामाथि प्रहार भएको नेपालले बताएका छन् ।
नेता नेपालले भारत सरकारको उक्त कदम तीव्र विरोध गर्दै नेपाली भूमिभित्र कुनै संरचना निर्मण र प्रयोग नगर्न आग्रह गरेका छन् ।
भारतले राजनीतिक नक्सा जारी गरेपछि उत्पन्न परिस्थितिमा वार्ताका लागि नेपालले दुईपटक सम्म पत्राचार गरे पनि वार्ता अघि बढाउनुको साटो नेपालको सार्वभौमसत्ता संकुचन हुने गरी कदम चाल्नुले आफूहरुलाई गम्भीर बनाएको उनले उल्लेख गरेका छन् ।
नेता नेपालले भारतसँग भिडियो कन्फरेन्सका माध्यमबाट समस्या समाधानका लागि वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । ‘यस संवेदनशील विषयमा उच्च राजनीतिक तहमा वार्ता गर्न, नेपालको वैध हकलाई कुनै पनि हालतमा कुण्ठित हुन नदिन आवश्यक तथ्य–प्रमाणहरुसहित दृढताका साथ प्रस्तुत हुन र आफ्नो भूमि कायम गर्न हामी नेपाल सरकारको गम्भीरतापूर्वक नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ का कारण विश्व नै त्यससँग जुधिरहेको संकटकालीन अवस्थामा मौका छोपेर गरिएको यस्तो कामका बारेमा छलफल गर्न महामारीको अन्त्य नकुरी भिडियो कन्फरेन्सका माध्यमबाट तुरुन्तै कुराकानी गर्न हामी विशेष ध्यानाकर्षण गराउँछौ ।’ यस्तै आफ्नो भूमि र नारिकको रक्षाका लागि सीमा क्षेत्रमा सुरक्षा संयन्त्र स्थापना गर्न, सीमाको नियमित नियमन गर्न र विकट सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीका लागि उचित प्रबन्ध गर्न सरकारसँग नेपालले माग गरेका छन् ।