एजेन्सी– अमेरिकाले कोरोना महामारीकै बीच भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोलाई सत्ताच्युत गरेर अपहरण शैलीमा आफ्नो. मुलुक लान खोजेको खुलासा भएको छ ।
भेनेजुयलाले अमेरिकी भाडाका सैनिकहरुले मडुरोलाई सत्ताच्युत गर्ने षड्यन्त्र रचेको र उक्त प्रयास विफल पारिएको जनाएको छ । एक अमेरिकीले नै भेनेजुयलाको राष्ट्रिय टेलिभिजनमार्फत सशस्त्र विद्रोह गरी मडुरोलाई पद मुक्त गर्ने र अमेरिका लैजाने षड्यन्त्रको खुलासा गरेका छन् । भेनेजुयलाले सत्ता विप्लव गर्न खोजेको आरोपमा यसै साता १३ अमेरिकी नागरिकलाई पक्राउ गरेको थियो । ती सबै अमेरिकी सेनाका पूर्व सदस्य रहेको दाबी भेनेजुयलाले गरेको छ ।
राष्ट्रपति मडुरोले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई सैन्य ‘कू’ मार्फत सत्ताच्युत गर्न खोजेको आरोप लगाउँदै आएका थिए । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सत्ता विप्लवको आरोपमा पक्राउ परेका आफ्ना नागरिक फिर्ता गर्न भेनेजुयलालाई दबाब दिएका छन् । अन्यथा जस्तोसुकै कडा कदम चाल्न तयार रहेको चेतावनी उनको छ ।