विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को विरुद्ध जारी लकडाउनको समयको मौका छोपी गाउँगाउँमा कुखुरा चोरी हुन थालेको छ । सरकारले लकडाउन जारी राखेको अवस्थामा म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको विभिन्न ठाउँमा कुखुराको चोरी बढ्दै गएको हो ।
पछिल्लो दुई हप्ताको अवधिमा मात्रै पुलाचौरस्थित चिप्लेटीको काउले र नयागाउँको धारापानीबाट ८ ओटा कुखुरा खोरबाटै चोरी भएका छन् । काउलेका सुरत किसानको खोरबाट गएको चैत १७ गते मध्यरातको समयमा ५ ओटा कुखुरा चोरी भएको सममाया किसानले बताउनुभयो । ४ केजीसम्मका लोकल ३ र कोईलर जातको २ वटा कुखुराको भालेपोथी चोरी हुँदा झण्डै १० हजार रुपैयाँ नोक्सान भएको उहाँले जानकारी दिनुभयो ।
चैतेदशैंको अघिल्लो दिन मध्यरातको समयमा खोरबाटै कुखुरा चोरी हुँदा घरका सदस्य कसैले पनि थाहा पाउन नसकेको पीडित किसानको भनाइ छ । चोरले कुखुरा चोरेपछि मकै लगाएको खेतमा पु¥याई मारेर लैजानुका साथै मकै समेत भाँचिदिएका छन् । चोरेले कुखुरा कसरी चो¥यो र कतातिर लग्यो भन्ने विषयमा कुनै पनि जानकारी पाउन नसकेको पीडित परिवार बताउँछन् । चोरको खोजीकार्य जारी रहेपनि हालसम्म पत्ता लाग्न सकेको छैन । कुखुरा चोरहरुको समूह हुन सक्ने अनुमान गरिएको छ ।
यसैगरी मङ्गलबार राती धारापानीका मनिसा किसानको खोरबाट पनि ३ ओटा कोईलर जातको कुखुराको भाले चोरी भएको छ । लकडाउन तथा बिजुली बत्ती नभएको रातको मौका छोपी चोरले उहाँको खोरबाट कुखुरा चोरिदिएको स्थानीय हिरा कार्कीले बताउनुभयो । मनिसाले कुखुरा चोरेको थाहा पाएर हेर्न जाँदा चोर कुखुरा समातेर भागेका थिए । तीनवटा कुखुरा चोरी हुँदा छ हजार रुपैयाँ नोक्सान बेहोर्नुपरेको पीडितको भनाइ छ ।
कुखुरा चोरको खोजी गरिए पनि पत्ता लाग्न सकेको छैन । पछिल्लो समय गाउँघरमा कुखुरा चोर्नुका साथै पाकेको केराको बोट काटेर लैजाने, ऊखु चोर्ने जस्ता सामाजिक बिकृतिहरु हुँदै आएको छ । पशुपंक्षीबाट समेत कोरोना भाइरसको संक्रमण हुन सक्ने भए पनि कुखुरा चोरी हुँदा गाउँलेहरुमा त्रास फैलिएको छ ।