कोरोना भाइरसको महामारीका समय स्थानीय तथा विदेशी कामदारको अधिकार हनन भएको भन्दै जनरल फेडेरशन अफ ओमान वकर्सले आपत्ति जनाएको छ । फेडेरेशनका अनुसार पछिल्ला ५ दिनमा कामदारको अधिकार कुण्ठित भएका यस्ता ३० वटा घटना उजूरीमा आएका छन् ।
तलब कटौती गर्ने, कामदारलाई बेतलबी विवादमा पठाउनेलगायत नियम विपरीतका घटना बढेको भन्दै यसबारे सम्बन्धित अधिकारीहरुसँग पहल गर्ने पनि फेडेरेशनले जनाएको छ । निजी क्षेत्रका कम्पनीले वैदेशिक जनशक्तीको मानविय अवस्थालाई समेत ख्यालमा नराखेको पर्यवेक्षणका क्रममा पाइएको फेडेरेशनले जनाएको छ ।
‘यस्ता अधिकार उल्लंघनका घटना बढ्दैछन् । केही उजूरी सुविधाजनक आवास, खाद्यान्न र तलबजस्ता आधारभूत आवश्यकताका विषयमा छन्,’ फेडेरेशनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ, ‘कामदारले क्वारेन्टाइन बस्न घरमा बिताएको समयलाई उनीहरुको वार्षिक बिदामा समावेश नगरिएको पनि पाइएको छ । यो अभ्यास पनि अधिकार उल्लंघन हो ।’
निजी क्षेत्रकले राष्ट्रिय तथा विदेशी कामदारको संरक्षणमा थप प्रयास गर्न जरुरी रहेको फेडेरेशनले जनाएको छ । फेडेरेशनले नियमित तलब दिन र कामदारको कार्यस्थल तथा आवासमा मापदण्डबमोजिमको स्वास्थ सुविधा उपलब्ध गराउन कम्पनीहरुसँग आग्रह गरेको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘कामदारहरुलाई विज्ञले जारी गरेका सतर्कताका मापदण्डहरुबारे सचेत गराउनु जरुरी छ ।’ फेडेरेशनले निजी क्षेत्रमा स्वदेशी तथा विदेशी कामदारका अधिकार उल्लंघनका घटनाको नियमित अनुगमन गर्दै सम्बन्धित अधिकारीसँग छलफल गरिने जनाएको छ ।