प्रकाश थापा
मध्यपहाडी जिल्लाहरुमा प्रायजसो पाइने टिमुर एक बहुउपयोगी झाडीदार बहुवर्षीय प्रजाति हो । यो प्रजाति करिव १००० मिटर देखि २५०० मिटर उचाइसम्मको खुल्ला पारिलो पाखामा पाइन्छ । सरदर रुपमा २ देखि ४ मिटर उचाइ हुने यस प्रजातिको फल स्थानीय रुपमा औषधी तथा खाद्य पदार्थको रुपमा प्रयोगमा आउँछ । वास्नायुक्त जिब्रो पर्र्पराउने टिमुरको फलको माग हालैका वर्षहरुमा अन्तराष्ट्रिय स्तरमा समेत बढ्दोक्रममा छ । अघिल्लो वर्ष म्याग्दी जिल्लाबाट जापान र जर्मनीमा टिमुर फलको निर्यातले पनि यसको अन्तराष्ट्रिय महत्वलाई झल्काउँछ ।
टिमुरको फुल चैत्रदेखि जेष्ठ महिनामा फुल्ने गर्दछ भने फल असोजदेखि कार्तिक महिनामा पाक्दछ । अन्नबाली नहुने बाँझिएको खेतबारीमा र रुखो माटोमा समेत यसको खती गर्न सकिन्छ । साधरणतया टिमुरको खेती हाँगा कटिङख्स् र बीउ उत्पादनबाट सजिलै गर्न सकिन्छ तर कटिङभन्दा बीउबाट खेती प्रविधि सफल भएको पाइएको छ ।
बीउबाट उत्पादन गर्दा टिमुरको राम्रोसँग पाकेको फल भुइमा झर्नु अगावै नै हातले टिपी बीउको संकलन गर्नु पर्दछ । टिमुरको बीउ उम्रने क्षमता कम भएकोले टिमुरको बीउलाई सकेसम्म चाँडो नै बीउको उपचार गरी नर्सरी व्याडमा छर्नु पर्दछ । टिमुरको फललाई टिपिसकेपछि एक दुई दिनसम्म हल्का घाममा सुकाई फलबाट बीउ निकाल्नु पर्दछ । कालो तेलयुक्त बीउलाई चार पाँच पटक पानीमा पखाली २४ घण्टासम्म चिसो पानीमा भिजाई नर्सरी ब्याडमा छर्नु पर्दछ । टिमुरको बीउको उम्रने क्षमता २० – ३० प्रतिशतसम्म रहेको हुन्छ । नर्सरी व्याडमा छरेको बीउ १–२ महिनामा उम्रन्छ । ३–४ पात भएपछि यसलाई पोलिब्यागमा सार्नु पर्दछ । पोलीव्यागमा सारेको करिव १ वर्षमा बिरुवा वृक्षारोपणका लागि योग्य बन्दछ । वृक्षारोपण भएको ३ देखि ५ वर्षमा विरुवाले फल दिन शुरु गर्दछ । टिमुरको बोट परिपक्क हुन ८ देखि १० वर्षसम्म लाग्दछ । एक परिपक्क बोटबाट अधिकतम उत्पादन ५÷६ के.जी सम्म हुन्छ । एन्सावको २०१६ सेप्टेम्बरमा प्रकाशित मुल्य सूचि अनुसार काठमाडौंमा प्रति के.जि टिमुर (बीउ सहित)को मुल्य रु ३४०, नेपालगञ्जमा रु ३५०, दिल्लीमा रु ४९६ र कलकत्तामा रु ५७६ रहेको छ । टिमुर परापूर्व समयदेखि नै प्रयोगमा आइरहेको बहुउपयोगी बोट हो । दैनिक रुपमा नेपालीहरुको भान्सामा टिमुरको फल मसलाका रुपमा तरकारी, मासु र अचारमा प्रयोगमा आउँछ । आयुर्वेदिक पद्घतिमा टिमुरलाई महत्वपूर्ण प्रजातिमा गणना गरिन्छ । यसको प्रयोग पेटसम्बन्धी रोग, घाउ, दाँत दुखेको, जुका हटाउन, ज्वरो, हैजा, चिसो, रुघा र खोकीमा औषधिको रुपमा प्रयोग गरिन्छ । पेटसम्बन्धी रोगको विशेषगरी पाचन प्रणालीमा अपच, आऊ र पेटको संक्रमणमा टिमुरको उपयोग लाभदायी मानिन्छ । यसले भोक जगाउँन मदत गर्दछ । हैजा रोगको संक्रमणमा टिमुर महत्वपूर्ण ओषधि हो । टिमुरको फल वा काँचो बोक्रालाई थिचेर निकालिएको रस हैजा बिमारीलाई उमेर हेरी मात्रा मिलाएर सेवन गराउँदा लाभ हुने आयुर्वेदका पुस्तकहरुमा जानकारी छ । टिमुरको फल खाने र यसको चुर्णलाई घाउमा छर्कनाले घाऊ खटिरामा लाभ हुने बताइएको छ । दाँत रोगको लागि टिमुरका हाँगा बिँगालाई पानीमा पकाएर कुल्ला गर्नाले दाँतको पीडा हट्ने र हाँगाले दाँत मोल्नाले दाँत निर्मल हुन्छ । अहिले दन्त मञ्जनहरुमा टिमुरको प्रयोग हुँदै आइरहेको छ । टिमुरको प्रयोग रगतसम्बन्धी समस्या, वात, दम, पागलपना, गानो गोला, पिसाबसम्बन्धी रोग आदिमा समेत उपयोगी हुन्छ । गाउँघरतिर माछा मार्ने विष, जंगली जुका झार्न र जैविक विषाधिका रुपमा प्रयोग गर्ने चलन नै छ । वर्तमान समयमा टिमुरको प्रयोग साबुन, च्यावनप्रास, दन्तमञ्जन, अत्तर, गन्धनाषक र किटनाशक औषधिको निर्माणमा समेत प्रयोग हुँदै आइरहेको छ ।
टिमुर मानव जीवनलाई चाहिने महत्वपूर्ण औषधीय गुण भएको प्रजाति हो । अन्तराष्ट्रिय रुपमा यसको माग बढी भएको र सामजिक तथा स्वास्थ्यका दृष्टिकोणले पनि महत्वपूर्ण भएका कारण यसको खेती विस्तारबाट मनग्य आम्दानी लिन सकिने संभावनाहरु छन् । बाँझिएको खेत, बारी र पाखोमा समेत टिमुर खेती सजिलै हुने भएकोले यसको व्यवसायिक खेतीतर्फ सबैले जोड दिनु पर्ने देखिन्छ । टिमुरको व्यासायिक खेतीतर्फ लम्केमा व्यक्ति, समाज र राष्ट्रले नै उचित फाइदा लिने निश्चित छ । त्यसैले बाँझो खेतबारी, भिर पाखा, खाली जमिन र सामुदायिक वनहरुमा बहुउपयोगी टिमुरको रोपण तथा विस्तारमा सबैले ध्यान दिऊँ । (थापा जिल्ला वन कार्यालय बागलुङ सहायक वन अधिकृत हुन् ।)