अहिले विश्वभर रुघाखोकीको बिरामी अनि त्यसको भाइरसले मानिसहरु त्रसित बनिरहेका छन् । विश्वका १ सयभन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । भाइरसको संक्रमण देखिनु सामान्य हुने भए पनि अहिले देखिएको कोरोना भाइरस भने अलिक जटिल प्रकृतिको भाइरस भएको कारणले गर्दा पनि मानसिहरु डराउनु स्वभाविक हो । चीनको बुहानबाट सुरु भएको अहिलेको नयाँ प्रकृतिको भाइरसले विश्वको ध्यान नै केन्द्रीत गराएको छ । विश्व अर्थतन्त्रमा गम्भीर गिरावट आइसकेको छ भने बहुराष्ट्रिय कम्पनीको उत्पादनमा कमी आउनुका साथै हवाई यात्रुहरु पनि निकै कम भएका छन् । नेपालले पनि विदेश जानका लागि लिइने नो अब्जेक्सन लेटर दिन बन्द गरेको छ । अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कनका लागि विश्वका धेरै देशले आग्रह गरेका छन्भने त्यसमा नेपाल पनि एक हो ।
चीनबाट सुरु भएको कोरोना भाइरसको जोखिम नेपालमा पनि उच्च छ भन्दै विश्व स्वास्थ्य संगठनले चेतावनी दिएका कारण पनि नेपालीहरुमा त्रास हुनु स्वभाविकै छ । तर, अहिलेसम्म आधिकारिक रुपमा नेपाल सरकारले कोरोनाको संक्रमण नेपालमा भएको भनेर सार्वजनिक गरेको छैन । तर पनि चीनमा मात्रै ३ हजारको हाराहारीमा मानिसको ज्यान गएको हुनाले छिमेकी मुलुकमा भएको भाइरसको संक्रमण नेपालमा पनि हुन सक्ने सम्भावना भने उच्च रहेको तथ्य यथार्थ हो । यही तथ्यलाई आधार मानेर हामीले पनि उच्च सतर्कता अपनाउन आवश्यक छ । हुन त अहिलेको भाइरसको बारेमा चर्चा जति भएको छ त्रासको बारेमा त्यति धेरै डराउनुपर्ने अवस्था छैन, तैपनि चिसोको समयमा लाग्ने रुघाखोकीले रोग प्रतिरोधी क्षमता कमजोर भएको मानिसलाई कठीन हुने भने पक्का हो ।
कारोनाको संक्रमणको आशंकामा यसपालीको होली पनि खल्लो बन्यो । होलीका दिन रङमा रमाउने समुदाय कोरोनाको त्रासमा बस्यो । भीडभाड अनि रङ र लोला बर्सने सहर बजारमा यसपालीको होली शुनसान बन्यो । बजार क्षेत्रमा होलीका लागि निस्कने मानिसहरुको संख्या निकै न्युन थियो । यसले के देखाउँछ भने कोरोनाको त्रासले गर्दा चाडपर्व पनि मानिएन भने बजारमा व्यापार घटेको त पक्का हो । ईटालीले डेढ करोड नागरिकलाई क्वारेन्टाइनमा राखेको छ भने अमेरिकामा पनि २१ जनाले ज्यान गुमाएका छन् । चीनबाट सुरु भएको कोरोनाका नयाँ संक्रमितहरु चीनमा घट्दै गएको भए पनि विश्वका अन्य देशमा भने पढ्दै गएको कारणले गर्दा अब कोरोना विरुद्धको भ्याक्सिन तयार गरेर खोप नलगाएसम्म पूर्ण रुपमा सुरक्षित महशुस गर्न नसक्ने अवस्था हो भन्ने खालको कुराहरु पनि आउन थालेका छन् । तर प्रचार गरिए जस्तो डरलाग्दो नभए पनि पूर्ण रुपमा ढुक्क हुन सक्ने अवस्था भने छैन । त्यसैले कोरोना मात्र होइन सबै प्रकारका रोगहरुका विरुद्ध पूर्ण सतर्कता अपनाउन जरुरी देखिन्छ ।
Previous Articleहस्तक्षेपमुक्त आधुनिक प्रहरी : हाम्रो आवश्यकता
Next Article डडेलोको जोखिम घटाऔं