विश्वमा कोरोना भाइरसको त्रास व्याप्त रहँदै गर्दा चीनमा भने कोरोना निन्त्रणतर्फ गैरहेको चिनिया सञ्चारमाध्यमहरुले जनाएका छन् । चीन बाहिर भने कोरोनाको त्रास अझै कायमै रहेको अवस्था ज्युँका त्युँ छ । ईटालीमा डेढ करोड नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ भने विश्वका अन्य देशहरुले पनि कोरोना विरुद्धको अभियानलाई तीव्रता दिएको छ । विश्वमा व्यापारमा मन्दी आइसकेको छ । पर्यटन व्यवसाय करिब शुन्यमा झरेको मान्न सकिन्छ । चिनिया राष्ट्रपतिले मंगलबार चीनमा कोरोना सुरु भएको स्थल बुहानको स्थलगत भ्रमण गरेका छन् । चीनले कोरोनाको विरुद्धमा युद्धको घोषणा गरेको थियो । अब कोरोनाका विरुद्धमा चालिने कदमका लागि चीनले अन्य देशलाई सहयोग गर्ने बताइरहेको जनाएको छ । चीनमा नयाँ बिरामी भेटिनेहरुको संख्या न्युन बन्दै गएको छ । सोमबार १७ जना नयाँ बिरामी भेटिएका थिए । दैनिकजसो कम मात्रामा नयाँ बिरामी भेटिएपछि कोरोना घट्दै जान थालेको बताइएको हो ।
गतवर्ष अस्ट्रेलियामा भएको डडेलोबाट अरबौं डलरको नोक्सानी व्यहोर्नुपरेको थियो । अस्ट्रेलियामा भएको आगालागीबाट डेड करोड जंगली जनावरहरु जलेर मरेका थिए । त्यस्तै अष्ट्रेलियाले ५ हजार उटलाई हेलिकोप्टरको माध्यम प्रयोग गरी गोली हानेर मारेको थियो । उटले पानी अत्यधिक मात्रामा सञ्चय गर्ने भएकाले पानी बचाउनका लागि ५ हजार उट अष्ट्रेलियाले मारेको बताएको थियो । कुनै पनि मुलुक आगालागीबाट जोगिन भरमग्दुर प्रयास गरिरहेकै हुन्छ । तर, त्यसले कतिसम्म समाधानतर्फ लाग्न सकिएला भन्ने सवाल भने पक्कै पनि उठ्छ । विश्वको निकै विकसितमध्य एक मानिने मुलुक अस्ट्रेलियाले आफ्नो देशमा भएको आगालागीलाई नियन्त्रण गर्न सकेन र आकासे पानीकै भर पर्नु परेको थियो । अस्ट्रेलियामा आगालागीका कारणले गर्दा निकै ठूलो क्षति व्यहोरेको थियो जसको कुनै तथ्य अहिलेसम्म सार्वजनिक भएको छैन । करिब चार महिना बढी समयसम्म लगातार भएको वन डडेलोले विश्वले राम्रै पाठ सिकेको हुनुपर्छ ।
नेपालमा पनि अब गर्मीको मौसम सुरु भैसकेको छ । चैत, बैशाखमा हावाहुरी चल्ने भएकोले अब अलिक बढी नै सचेत हुन आवश्यक देखिन्छ । हाम्रो सानो गल्तीले पनि निकै ठूलो क्षति पुग्न सक्ने सम्भावना रहने भएकोले यस बारेमा सचेत अनि सुरक्षित हुनुपर्ने पक्कै हो । नेपालमा विगतका वर्षहरुमा डडेलोले धनजनको ठूलै क्षति पुग्ने गरेको छ । यसवर्ष पनि हावाहुरीको मौसम सुरु भएको हुनाले ज्वलनशील पदार्थलाई उचित व्यवस्थापन गर्ने र आगोका स्रोतहरुलाई संरक्षण गर्दै आगलागी र त्यसबाट बच्न सबैले आ–आफ्नो तर्फबाट पहल गर्दै सुरक्षा व्यवस्था अपनाउनेतर्फ लाग्नुपर्छ । आगोले भौतिक क्षति गराउने हुँदा यसबाट बच्नका लागि हामी सबैले आ–आफ्नो सुरक्षाका साथै समुदाय अनि समाजको सुरक्षाको लागि पहलकदमी चाल्ने कि ?
Previous Articleकोरोना भाइरसको त्रास
Next Article ‘जनप्रतिनिधिसँग अवसर र चुनौती दुवै छ’