म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा रहेकाे मन्दिर तथा आसपासका ठाउँबाट १ सय ३० लिटर घोट्टा बरामद गरी नष्ट गरिएको छ ।
महाशिवरात्रि पर्वको अवसरमा शुक्रबार गलेश्वर क्षेत्रबाट अवैध रुपमा दूधमा नसालु पदार्थ मिसाएर बनाइएको घोट्टा बिक्री वितरण गरेको पाइएपछि बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
नसालु पदार्थ गाँजा, चरेस र भाङ मिसाएर बोतलमा राखी बिक्री वितरण गरिरहेको गोप्य सूचनाको आधारमा घोट्टा बरामद गरी नष्ट गरिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीलाई सूचना प्राप्त भएपछि लगत्तै पुगेको प्रहरीको टोलीले त्यति परिमाणकाे घोट्टा जफत गरेर नष्ट गरेको हाे ।
प्रहरीले मिनरल वाटरको बोतल तथा एउटा ड्रममा राखेको घोट्टा जफत गरेको थियो । चाडपर्वको नाममा संस्कृतिभन्दा पनि विकृति बढ्ने देखिएकाले घोट्टा नियन्त्रणमा लिएर नष्ट गरिएको प्रनाउ कुँवरको भनाइ छ ।