म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा गोरखबहादुर जिसी चयन भएका छन् । क्याम्पस सञ्चालक समितिको माघ १० गते सम्पन्न वैठकको निर्णय अनुसार पूर्व सहायक क्याम्पस प्रमुख जिसीलाई क्याम्पस प्रमुख पदमा नियुक्त गरिएको हो ।
बुधबार क्याम्पसमा आयोजित एक समारोहबीच जिसीले क्याम्पस प्रमुखको पदभार सम्हालेका छन् । क्याम्पस प्रमुखमा नियुक्त जिसीलाई पदभार ग्रहणको नियुक्ति–पत्र हस्तान्तरण गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न अनुरोध गरे । यसअघि क्याम्पस प्रमुख रहेका टिकाराम सापकोटाको ४ वर्षे कार्यकाल सकिएपछि सञ्चालक समितिले क्युएए फोकलपर्सन समेत रहेका जिसीलाई सञ्चालक समितिको वैठकले माघ २२ गतेदेखि लागू हुनेगरी क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
पदभारग्रहण कार्यक्रममा बोल्दै निवर्तमान क्याम्पस प्रमुख सापकोटाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले २०७२ साल मंसिर २ गते आफू क्याम्पस प्रमुख भएदेखि मङ्गलबारसम्म ४ वर्षको कार्यकालमा आफूले गरेको कामको अनुभव पनि सुनाएका थिए ।
पदभार ग्रहणपछि बोल्दै नवनियुक्त क्याम्पस प्रमुख जिसीले आफ्नो कार्यकालमा मानित विश्वविद्यालय बनाउने लक्ष्य रहेको बताए । उनले प्रशासन सुधार महत्वपूर्ण पक्ष रहेकाले प्रशासनमा डिजिटलाईज गरी पेपरलेस क्याम्पस बनाउने जानकारी समेत दिएका छन् । २०५९ साल मंसिर १ गतेदेखि म्याग्दी बहुमुखी क्याम्पसको प्राध्यापकको रुपमा कार्यरत प्राध्यापक जिसी यसअघि सहायक क्याम्पस प्रमुख भई काम गरेका थिएभने पछिल्लो समय क्युएए फोकलपर्सनका रुपमा कार्यरत थिए ।
Previous Articleकानुनी राज्य, लोकतान्त्रिक मुल्य र मान्यता
Next Article दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता