काठमाडौं, २२ कात्तिक- लिओनल मेस्सीको प्रेरणामा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सेभिल्लामाथि जित हात पारेको छ । आइतबार राति भएको खेलमा एक गोलले पछि पारेको बार्सिलोनाले कमब्याक गर्दै सेभिल्लालाई २–१ ले हराएको छ ।
घरेलु मैदानमा भएको खेलमा सेभिल्लाले १५ औं मिनेटमा भिटोलोको गोलबाट अग्रता लिएको थियो । तर, पहिलो हाफको अन्तिमतिर लिओनल मेस्सीले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।
खेलको ६१ औं मिनेटमा लुइस स्वरेजले गोल गरे । उनले मेस्सीको पासमा यो गोल गरेका हुन् । बार्सिलोनाका लागि ११२ खेलमा उनको यो ९५ औं गोल समेत हो । दोस्रो हाफमा बार्सिलोनाले थुप्रै अवसर सृजना गरेको थियो । सेभिल्लाका किपरले दुई उत्कृष्ट बचाउ गरे ।
यो जितसँगै बार्सिलोनाले लिग लिडर रियल मड्रिडमाथि दबाव कायमै राखेको छ । बार्सिलोना ११ खेलबाट २५ अंकसहित दोस्रो स्थानमा छ भने रियल मड्रिडको २७ अंक छ ।
Previous Articleवर्षे धान उत्पादनमा ६ प्रतिशतले वृद्धि
Next Article मंंसिर दोस्रो साताभित्र प्रतिवेदन – सीमांकन आयोग