विद्यालयको पोसाकमा सजिएर काँधमा झोला भिरेर विद्यालय जान म्याग्दीका आमाहरुलाई उमेरले छेकेन । ‘मर्ने बेलामा हरियो काँक्रो’ बेला–बेलामा बेनी नगरपालिका–७, मंगलाघाटकी ७० वर्षीया मनमाया बुढाथोकीको कानमा यस्तै कुरा गुञ्जिन्छ । उज्यालो वैकल्पिक विद्यालयमा नियमित पढ्न जाने ५० वर्ष काटेका आमाहरूलाई आफ्नो टोल, घर तथा चोक र गल्लीमा ‘मर्ने बेलामा पढ्ने रहर’, ‘घरमै आराम नगरेर बेकारमा झन्झट’, ‘बुढो दिमाखले काम गर्दैन’ भन्दै गिज्याउने गर्दछन् ।
हातमा किताब, कापी र कलम बोकेर विद्यालयमा आवतजावत गर्ने आमाहरुले चस्मा लगाएर बुढेसकालमा पढ्न जाँदा बाटोमा अनेक कुरा सुन्नु परेपनि त्यसलाई बेवास्ता गर्दै विद्यालय आउने गरेको वृद्धाहरुको भनाइ छ । विदेशबाट छोराले पठाइदिएको महङ्गो मोबाइलमा नाति–नातिना गेम खेल्न मात्रै थालेपछि घर नजिकै रहेको उज्यालो वैकल्पिक विद्यालयमा अक्षर चिन्न, मोबाइलको अङ्क थिच्न र रिचार्ड गर्न समेत अरुको भर पर्नुपर्ने अवस्थाको अन्त्यका लागि विद्यालयमा आएको वृद्धा मनमाया बुढाथोकीले बताइन् ।
म्याग्दीका केही अगुवा युवाहरूको पहलमा स्थापना भएको उज्यालो वैकल्पिक विद्यालयमा पोसाकमै सजिएर झोलामा किताब र कापी बोकेर हिँड्ने आमाहरूले पढ्ने धोको पुरा भएको बताए । ‘चिच्याउँदै अक्षर चिन्दैछु, ‘अक्षर चिन्न थालेपछि आयु पनि बढ्छ जस्तो भएको वृद्धाहरु बताउँछन् । बिहान ११ नबज्दै साविकको महिला तथा बालबालिका कार्यालयको भवनमा रहेको विद्यालयमा पुग्ने गरेका आमाहरूले क, ख, ग, घ पढ्दा छोराछोरी समेत मख्ख छन् ।
दुखःकष्ट गरेर छोराछोरीलाई उच्च शिक्षा दिलाएका आमाहरूले बाल्यकालमा शिक्षाबाट बन्चित भए पनि बुढेसकालमा इच्छा पुरा भएको बताए । बाल्यकालमा छोरीहरूले अक्षर चिन्दा वा पढ्दा पाप लाग्छ भन्ने मान्यताले विद्यालयको मुख देख्न नपाएको अवस्थामा अहिले आफ्नो नाम पढ्न र लेख्न जान्ने मात्रै नभई क्याल्कुलेटर चलाउने र घरायसी हिसाब समेत गर्न सक्ने भएका छन् । २०७२ सालमा स्थापना भएको विद्यालयमा कक्षा १, ३, ५, ७, ८ र ९ सम्म नियमित विद्यालय आउनेको सङ्ख्या हरेक वर्ष थपिँदै गएको विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष राजेश शाक्यले बताए ।
विद्यालयमा २१ वर्षदेखि ७० वर्ष उमेरसम्मका ६८ जना विद्यार्थीहरु अध्ययनरत छन् । विद्यार्थीले अक्षरसँगै कम्प्युटर समेत सिक्ने व्यवस्था भएकाले आर्कषण बढेको छ । विद्यालय सञ्चालनका लागि चन्दा, वडा, शिक्षा विकास तथा समन्वय इकाई तथा नगरपालिकासँगै गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट १७ लाख सहयोग, कक्षा ब्यवस्थापन, कम्प्युटर, विज्ञान–प्रयोगशाला, पुस्तकालय, पढ्न सिक्न सहज हुने अन्य आवश्यक पूर्वाधार लगायतको सुविधा थप गरिएको छ । पढिरहेको वृद्धाले एसईई दिएर ‘मर्ने बेलामा हरियो काँक्रो’ भन्नेलाई गतिलो जवाफ दिने योजनासहित कडा मेहनत गरिरहेका छन् । उज्यालो वैकल्पिक विद्यालयमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म पढाई हुँदै आएको छ ।
Previous Articleखण्डग्रास सूर्यग्रहण सुरु, साढे ११ बजेसम्म रहने
Next Article बेनी अस्पतालमा इलेक्ट्रिक टोकन