विद्यालय तहमा लोकप्रिय रहेको जेसीज कप फुटबल अन्तर्गत यस वर्षको उपाधि पनि साबिक विजेता न्यु वेष्ट प्वोईन्ट आवासीय माविले जितेको छ । म्याग्दीको सदरमुकाम बेनीस्थित खुलामञ्चमा शनिबार सम्पन्न १८औं जेसीज कप–२०१९ को उपाधि वेष्ट प्वोईन्ट हात पारेको हो ।
अन्तरमावि जिल्लास्तरीय प्रतियोगिताको फाइनल खेलमा बुद्ध एकेडेमीलाई, वेष्ट प्वोईन्टले १ का विरुद्ध ८ गोल गर्दै उपाधि जितेको छ । यस वर्षको प्रतियोगितासँगै वेष्ट पोईन्टले लगातार तीन पटकसम्म उपाधि जित्न सफल भएको आयोजक म्याग्दी जेसीजले जनाएको छ । गतवर्ष पश्चिम दरबाङको केबि एकेडेमी र गतभन्दा अघिल्लो वर्ष माउण्ट एभरेष्टलाई पराजित गरी वेष्ट प्वोईन्टले उपाधि जितेको थियो ।
उपाधि जितेसँगै विजेता वेष्ट प्वोईन्टले नगद ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता बुद्ध एकेडेमीले ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी प्रतियोगितामा अनुशासित विद्यालयतर्फ केबि एकेडेमी दरबाङ सातहजार सातसय ७७ रुपैयाँ नगदसहित सम्मानित भएको छ । गएको मङ्गलबारदेखि सुरु भएको प्रतियोगितामा म्याग्दी जिल्लाका विभिन्न २० ओटा विद्यालयहरु सहभागी थिए ।
प्रतियोगिताको उत्कृष्ट डिफेन्डरतर्फ वेष्ट प्वोईन्टका टिम क्याप्टेन तेजिन घर्तीमगर, सर्वाधिक गोलकर्ता मनिस श्रेष्ठ, मिडफिल्डर आदित्य विक, उत्कृष्ट गोलरक्षक सज्जन बराईली र उत्कृष्ट खेल शिक्षक पनि वेष्ट प्वोईन्टकै दिपेन राई घोषित भएका छन् । यसैगरी प्रतियोगितामा बेनी सामुदायिक माविका विजय छिनाल उत्कृष्ट स्ट्राइकर र गौतम केसी द राईजिङ प्लेयर तथा बुद्ध एकेडेमीका नेत्र हुमेन उत्कृष्ट खेलाडी घोषित बनेका थिए । उनीहरुलाई क्रमशः दुईहजार पाँचसय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिएको छ ।