हाम्रो समाजले यौनलाई गोप्य मान्छ । यौनसँग जोडिएका कुराहरु खुल्ला तबरले गर्नु राम्रो मान्दैन । टेलिभिजन तथा आम सञ्चारमाध्यममा एचआईभी तथा एड्स विरुद्धका पर्चाहरु अनि सूचना देखिँदा मानिसहरु नाक खुम्च्याउँछन् । एचआईभी तथा एड्सलाई सामान्यतयाः यौन सम्पर्कबाट लाग्ने रोगको रुपमा लिइने भएकाले मानिस यसको नाम सुन्नासाथ तर्सने र यसबाट संक्रमितहरुलाई हेयको दृष्टीले हेर्ने गर्दछन् । तर, सम्पूर्ण तबरबाट हेर्ने हो भने एड्स तथा एचआईभीको संक्रमण यौन सम्पर्कबाट मात्रै भएको भन्ने तथ्य गलत सावित हुन्छ । पहिलो माध्यम त असुरक्षित यौन सम्पर्क नै हो तर पनि रगत लिँदादिँदा वा सुई लगायतका औजारबाट पनि यौन रोग सर्ने गर्दछ । मुख्यतयाः यौनजन्य क्रियाकलापका लागि अत्यन्त सङ्कुचित समाज अनि त्यही कारणले गर्दा हुने असुरक्षित यौनजन्य क्रियाकलापका कारणले गर्दा एचआईभी तथा एडस्को संक्रमण हुन्छ । त्यसका बारेमा सचेत भएको खण्डमा यो संक्रमणबाट बच्न सकिन्छ ।
विश्वमा अलि पहिल्यै पत्ता लगाइएको भए पनि नेपालमा पहिलोपटक एचआईभीको संक्रमण सन १९८८ मा पत्ता लगाइएको थियो । अमेरिका लगायतका पश्चिमा देशहरुमा बाँदरबाट मानिसमा सरेको भन्दै अनुमान लगाइएको यो रोग कहाँबाट सुरु भयो भन्ने त अझै पनि पत्ता लाग्न सकेको छैन तर पनि यो असुरक्षित यौन क्रियाकलापकै उपज भने पक्का हो । नेपालमा यो रोगको संक्रमण पत्ता लागेको ३० वर्ष बितिसकेको अवस्था भए पनि यसबाट संक्रमित भएका व्यक्तिहरु अझै पनि लुकेर बस्ने र उपचारात्मक तथा परामर्श लिने र सुधारका उपाय अपनाउनेको सङ्ख्या अहिलेसम्म पनि निकै कम छ । सामाजिक रुपमा अपहेलित हुनुपर्ने अवस्थाका कारणले गर्दा एचआईभी तथा एड्सका संक्रमितहरुले आफूलाई थाहा भए पनि कसैलाई पनि नभनेर लुकाएरै बस्ने कारणले गर्दा नै झन् समाज असुरक्षित बन्दै गएको छ ।
एड्सलाई झण्डै एक दशक अगाडिसम्म महामारीका रुपमा हेरिने गरिन्थ्यो । तर यो रोगलाई अहिले भने खासै केही होइन र यो समस्या सामान्य हो भन्नेहरु पनि भेटिन्छन् । एचआईभी तथा एड्सको संक्रमण भएपछि मानिसको मृत्यु तत्कालै हुने भन्दापनि यसको संक्रमण भएपछि मानिसको रोगप्रतिरोधी क्षमता कमजोर हुँदै जाने भएकाले अन्य रोगको संक्रमणबाट मानिसको मृत्यु हुने हो । यसका लागि हामी सबैले वैदेशिक रोजगारीमा जाने क्रममा असुरक्षित यौन सम्पर्कबाट जोगिनु मुख्य उपचार नै हो भन्न सकिन्छ । तर वैदेशिक रोजगारी मात्र नभएर स्वदेशमै रहँदा पनि असुरक्षित यौन सम्पर्कलाई निरुत्साहित गर्दै एड्सबाट बच्न सकिन्छ । त्यस्तै यौन सम्पर्क गर्दा असुरक्षित तरिका नअपनाउने, सुई निर्मलीकरण नगरी प्रयोग नगर्ने लगायतका मुख्य कुरामा ध्यान दिन सकियो भने एड्सबाट पक्कै बचिन्छ । हामी सबैले एड्स लाग्नबाट बच्नुका साथै एड्स रोगीलाई घृणा नभई माया गर्नु पनि आजको दिनको सन्देश हो ।
Previous Article१८औं जेसीज कपको उपाधि वेष्ट प्वोईन्टले जित्यो
Next Article रुप्से दैनिक ! १६ मंसिर २०७६