बेनी नगरपालिका–८, कालीपुलस्थित बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीहरुले गरिब तथा विपन्न परिवारका बालबालिकालाई विद्यालय पोषाकसहित शैक्षिक सामग्री सहयोग गरेका छन् । विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कल र शुभदर्शन बाल क्लबको नेतृत्वमा सङ्कलित तीनहजार रुपैयाँ बराबरको सहयोग गरिएको हो ।
बेनपा–७, मंगलाघाट बस्दै आएकी गरिब तथा विपन्न लक्ष्मी विकका तीनजना छोराछोरीलाई विद्यालय पोसाकसहित शैक्षिक सामग्रीहरु सहयोग गरिएको जुनियर रेडक्रस सर्कलले जनाएको छ । जिल्लाको धवलागिरी गाउँपालिका–१, गूर्जा घरभई हाल बेनीमा बसोबास गर्दै आएकी विकका छोरीहरु सुस्मिता, अस्मिता र छोरा सुशील विकलाई एक कार्यक्रमबीच जुरेस र बाल क्लबले संयुक्त रुपमा हस्तान्तरण गरेको हो ।
विद्यालय पोषाक र शैक्षिक सामग्री विद्यालयका प्रअ सुरेन्द्रप्रसाद केसी, शिक्षिका, जुरेस अध्यक्ष सुस्मिता परियार र शुभदर्शन बाल क्लबकी अध्यक्ष दिपिका विकले सुस्मिता, अस्मिता, सुशील विक र अभिभावक लक्ष्मीलाई हस्तान्तरण गरेका थिए । विद्यालयमा भर्ना भएका विपन्न विक परिवारलाई नियमित विद्यालय आउने वातारण सिर्जना गर्नका लागि पोषाकसहित आवश्यक शैक्षिक सामग्रीहरु सहयोग गरिएको बाल क्लब अध्यक्ष दिपिका विकले बताइन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबाट सङ्कलित रकमबाट सो सामग्री सहयोग गरिएको जुरेस अध्यक्ष परियारले जानकारी दिइन् ।
विद्यालयका प्रअ केसीले विद्यालय पोसाकसहित आवश्यक शैक्षिक सामग्री सहयोगसँगै आर्थिक रुपमा विपन्न तथा गरिब परिवारका विद्यार्थीलाई अध्ययनमा सहज हुने बताए । सहयोग प्रति लक्ष्मी विकले विद्यार्थीहरुलाई धन्यवाद दिएकी छिन् । बेनी नगरपालिका–७, मंगलाघाटमा डेरामा बस्दै आएका लक्ष्मी र उनका श्रीमान् मजदुरी गर्दै आएका छन् । क्लबका अध्यक्ष विकको सञ्चालन र जुरेस अध्यक्ष परियारको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।