हिमाली जिल्ला म्याग्दी भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी आधुनिक सुविधासम्पन्न होटल बनाउन थालिएको छ । श्रेष्ठ होटल हटस्प्रिङ प्रालिले म्याग्दीको बेनी नगरपालिका–४, तातोपानीको तल्लो बजारमा निर्माण गर्न लागेको होटलको बिहीबार धार्मिक विधि अनुसार शिलान्यास गरिएको हो ।
प्रालिका अध्यक्ष एवं म्याग्दीका युवा उद्यमी प्रमोद श्रेष्ठले आइडिसी समेत गरी करिब १५ करोडको लगानीमा बनाउन लागिएको होटलमा एट्याचसहित कुल ३२ ओटा कोठा रहेका छन् । श्रेष्ठ परिवारको लगानी रहेको उक्त होटल ६ तलाको बन्ने हुँदा होटलमा सभाहल, पर्याप्त पार्किङको सुविधाका साथै लिफ्ट प्रविधि समेत जडान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । साढे २ रोपनी क्षेत्रफलको जग्गामा बनाइने होटलको १८ महिनाभित्र निर्माणसम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी बनाउन लागिएको होटल स्तरीय एवं आधुनिक सुविधासम्पन्न क्षमताको हुने बताइएको छ ।
होटलको शिलान्यास गर्दै बेनी नगरपालिका–४, का वडा अध्यक्ष गोविन्द पौडेलले नयाँ बन्ने होटलले तातोपानी क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने बताएका छन् । उनले नयाँ होटल निर्माणसम्पन्न भएर सञ्चालनमा आएपछि प्रसिद्ध तातोपानी कुण्डमा डुब्न आउने बिरामीहरुलाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने बताउँदै तातोपानी क्षेत्रको विकास र प्रवद्र्धनका लागि भौतिक संरचना निर्माणमा जोड दिन आवश्यक रहेको बताए । सोही कार्यक्रममा बोल्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले पर्यटकीय क्षेत्रको विकास तथा प्रचारप्रसारका लागि भौतिक संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठ र नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मीले म्याग्दी जिल्लाको पर्यटन क्षेत्रको विकासमा नयाँ होटलले सहयोगी भूमिका खेल्ने बताएका थिए । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य र म्याग्दी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका जिल्ला अध्यक्ष बाबुराम आचार्यले नयाँ बन्न लागेको होटलले समग्र जिल्लाको पर्यटनमा सहयोग पु¥याउने भन्दै निर्धारित समयमै होटलको निर्माणसम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।
श्रेष्ठ होटल हटस्प्रिङ प्रालिका सञ्चालक प्रमोद श्रेष्ठको अध्यक्षता, तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यको स्वागत र सचिव कृष्ण खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा बेनपा–७, का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका कोषाध्यक्ष हरिकृष्ण गौतमले मन्तव्य राखेका थिए ।
सञ्चालक श्रेष्ठले बनाउन लागेको होटलको संरक्षकमा उनका बुबाआमा खड्कलाल श्रेष्ठ र विष्णुकुमारी श्रेष्ठ संरक्षक रहेका छन् । म्याग्दीको तातोपानी क्षेत्रमा होटलको आवश्यकता महशुस गरी बनाउन लागिएको होटल म्याग्दी भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरिएको सञ्चालक श्रेष्ठको भनाइ छ । नयाँ बन्ने होटलले म्याग्दीको पर्यटन क्षेत्रको विकासका साथै पर्यटक आगमनमा पनि सहयोग पुग्ने अनुमान गरिएको छ ।
Previous Articleरुप्से दैनिक ! २९ कार्तिक २०७६
Next Article शिविरबाट १ सय ८२ लाभान्वित