बागलुङ, २० कात्तिक – जिल्लाको ग्रामिण विकास मञ्च अधिकारीचौरले सुरु गरेको आमा शिक्षा कार्यक्रमका लागि आर्थिक अभाब भएपछि देउसीभैलो खेलेर रकम जुटार्ईको छ । मञ्चले ‘शिक्षित आमा शिक्षित सन्तान’ भन्ने उदेश्य सहित गत बर्षदेखि सुरु गरेको कार्यक्रमलाई निरन्तरता दिन खेलिएको देउसीबाट १ लाख २० हजार रकम संकलन भएको छ ।
‘समाजिक समृद्धिको मेरुदण्ड शिक्षा हो, शिक्षित नागरिक हुनका लागि हाम्रा सन्तान शिक्षित हुनुपर्छ ।’ मञ्चका अध्यक्ष उमेश बुढाले भने, ‘आमा आँफै शिक्षित भएमात्र सन्तानलाई शिक्षित बनाउन सकिन्छ ।’ अध्यक्ष बुढाले कुनै सरकारी तथा अन्य अनुदान नभएकाले मञ्चको अगुवाईमा आफै श्रोत जुटाएर स्वयंसेवि रुपमा कार्यक्रम गरिने बताए ।
गाउँको विकासका लागि युवाको अगुवाई चाहिन्छ भनेर ४ बर्ष पहिले स्वतस्फुर्त स्थानिय युवाले बनाएको संस्थाले सचेत नागरिकले मात्र समाजलाई सहि बाटोमा डो¥याउँछ भनेर आमा शिक्षा कार्यक्रम सुरु गरेको मञ्चका सचिव प्रसान्त घर्तीले बताए । उनले यो कार्यक्रम गर्ने सोच तथा योजना दुवै मञ्चको आफ्नै भएको बताए ।
अनुदान नभएपनि मञ्चले चन्दा संकलन गरि गत बर्ष सामुदायिक रेडियो परिवर्तनबाट आधा घण्टाको ‘आमा शिक्षा रेडियो कार्यक्रम’ प्रसारण गरेको थियो । ‘ज्यष्ट नागरिकप्रती युवाको दायित्व’ विषयक अन्तरक्रिया गरि अधिकारीचौरका ८५ बर्ष पुगेका ४७ जना ज्यष्ट नागरिकलाई सम्मान गरिएको थियो । कार्यक्रमको लागि यो बर्ष जिल्ला शिक्षा कार्यालयले एक सय थान पुस्तक दिएको छ भने अधिकारीचौर गाविसले गत बर्ष २० हजार बजेट विनियोजन गरेको थियो ।
गत बर्ष नै सञ्चालन गर्ने भनिएको आमा साक्षरता कार्यक्रम सहजकर्ताका लागि तलबभत्ता, पाठ्यपुस्तक तथा स्टेशनरी खरिदका लागि रकम अभाव भएपछि रोकिएको थियो । जिल्ला शिक्षा कार्यालय, जिल्ला विकास समिति तथा अन्य गैरसरकारी संस्थालाई बजेट माग्दा नपाएपछि यो बर्ष देउसीभैलो र चन्दा संकलन गरेरै कार्यक्रम गर्न लागेको अध्यक्ष बुढाको भनाई छ ।
यो बर्ष गाविसका ९ ओटै वडामा आमा साक्षरता कार्यक्रम र ‘आमा शिक्षा रेडियो कार्यक्रम’ तथा रेडियो नाटक उत्पादन गरि प्रसारण गर्ने योजना छ । बुर्तिबाङमा रहेको रेडियो परिर्वतनसँग रेडियो कार्यक्रम र नाटक मञ्च आफैले उत्पादन गरेर प्रसारण गर्ने सहमती भएको छ ।
बार्षिक कार्यक्रम सम्पन्न गर्न ५ लाख चाहिने भएकाले नपुग रकम जुटाउन आर्थिक सहायता अभियान समेत सुरु गरिएको छ । साक्षरता सहजकर्ताको तलवभत्ता, स्टेशनरी तथा पाठ्यसामग्री खरिद गर्न र कार्यक्रम उत्पादनको लागि ल्यापटप, रेकर्डर जस्ता सामान खरिदका लागि यो रकम आबश्यक पर्छ । रेडियो कार्यक्रम आगामी मंसिरदेखि र वडामा नगरिने आमा साक्षरता पुस महिना देखि सञ्चालन हुनेछ ।