नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको आयोजनामा शनिबार म्याग्दीमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पालिकास्तरीय सङ्गठन कमिटीको व्यवस्थापनमा जिल्लाको विभिन्न चारवटा ठाउँमा भेला गरिएको हो ।
धौलागिरि गाउँपालिकाको ताकममा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा म्याग्दीका इन्चार्ज भूपेन्द्रबहादुर थापाले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियानमा सरकार र आफ्नो पार्टी लागिपरेको बताएका छन् । प्रतिनिधि सभा सदस्य समेत रहेका थापाले देशमा कानुनी राजको सुरुवात भएको भन्दै अपराध गर्ने सांसद, मन्त्री जो कसैलाई पनि राज्यले छुट नदिने बताए ।
सोही कार्यक्रममा नेकपा गण्डकी प्रदेश कमिटी सदस्य खुमबहादुर बानियाँ, जिल्ला कार्यालय सदस्य सुविन जुग्जाली र धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले वर्तमान सरकारले विकास निर्माणसँगै जनताको आवश्यकता पुरा गर्न जनमुखी कार्यक्रम तथा बजेटसहित कार्यान्वयनतर्फ लागेको बताए । नेकपा धौलागिरि गाउँपालिका सङ्गठन कमिटीका अध्यक्ष खुमनाथ सुवेदीको अध्यक्षता र सचिव देउप्रसाद छन्त्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा सचेतक झकबहादुर छन्त्यालले स्वागत गरेका थिए ।
यसैगरी मालिका गाउँपालिकाको दरबाङमा भएको कार्यक्रममा बोल्दै नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले अहिलेको सरकारले नेपाली जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी बजेट, नीति र कार्यक्रम प्रस्तुत गरेको बताए । पूर्व सांसद तथा गण्डकी प्रदेश कमिटी सदस्य नवराज शर्माले सरकारले ल्याएको नीति तथा कार्यक्रमको पूर्ण कार्यान्वयनका लागि सिङ्गो पार्टी पङ्ति र नेता, कार्यकर्ताहरु लाग्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु, नेकपा म्याग्दीका सचिवालय सदस्य मोतिराज उपाध्याय र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय उपाध्यक्ष जङ्गबहादुर गर्बुजाले सरकारले गरेका राम्रा कामको प्रचारप्रसारका साथै गलत कामको बारेमा खबरदारी गर्नुपर्ने बताए । गाउँपालिका कमिटी अध्यक्ष बेगप्रसाद गर्बुजाको अध्यक्षता, सचिव गोविन सिउँथानीको सञ्चालन र सदस्य सन्तनाथ जैसीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यस्तै नेकपा बेनी नगरपालिका कमिटीको व्यवस्थापनमा सदरमुकाम बेनीमा सम्पन्न भेलामा गण्डकी प्रदेश कमिटी सदस्य एवं जिल्ला सचिव हरिकृष्ण श्रेष्ठ र प्रदेश कमिटी सदस्य टेकबहादुर विश्वकर्माले विभिन्न विषयहरुमा प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । बेनी नगर कमिटी अध्यक्ष शेरबहादुर केसीको अध्यक्षता, सचिव राजकुमार थापाको सञ्चालन र जिल्ला कार्यालय सदस्य देवबहादुर घलेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यसैगरी अन्नपूर्ण गाउँ सङ्गठन कमिटीको आयोजनामा पोखरेबगरमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गदै गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले प्रदेश सरकारको तर्फदेखि जिल्लामा सडक, पुललगायत विकास निर्माणलाई प्राथमिकता दिइएको बताए । जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसीले ग्रामीण क्षेत्रको विकासका लागि समन्वय समितिमार्फत आवश्यक पहल तथा समन्वय गरिएको जानकारी दिए ।
गाउँपालिका सङ्गठन कमिटी अध्यक्ष खड्ग गिरीको अध्यक्षता, सचिव पूर्ण पाईजाको सञ्चालन र जिल्ला सदस्य बुद्धि पुनको स्वागतमा सम्पन्न भेलामा अन्नपूर्ण–२, भूरुङ–तातोपानीका वडा अध्यक्ष ओमबहादुर पुनले मन्तव्य राखेका थिए ।