नेपाली समाजमा एउटा उखान छ, ‘सानालाई ऐन ठूलालाई चैन ।” तर, वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले भने सबैलाई ऐन सबैलाई चैनको वातावरण सिर्जना गराएको छ । बहालवाला सभामुखलाई उनको सरकारी निवासबाटै गिरफ्तार गरेर प्रहरीले अनुसन्धान थाल्यो । यौन हिंसाको आरोप लागेका कृष्णबहादुर महरालाई निवासबाटै लगेर हिरासतमा राखेर अनुसन्धान थालेको छ नेपाल प्रहरीले । सांसद रेशम चौधरीलाई पनि अहिले जेलमा राखिएको छ । सांसद जितेका तथा सांसद जितेर मन्त्री खाइसकेका एवं पूर्व भएका माननीयहरुलाई पनि प्रहरीले गिरफ्तार गरेर अनुसन्धान अगाडि बढाउँदै लगेको अहिलेको नेपाल प्रहरीले गरेको काम हो । पूर्व मन्त्री एवं नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताब आलमलाई १२ वर्ष अगाडिको घटनामा संलग्न भएको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो । १२ वर्ष अगाडि रौतहटमा १४ जनाको हत्या भएको घटनामा संलग्नताको आरोपमा प्रहरीले आलममाथि अनुसन्धान सुरु गरेको छ ।
संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोपमा तत्कालीन सभामुख महरा हिरासतमा छन्भने हत्या आरोपमा मोहम्मद अफ्ताब आलम, जनकपुर विमानस्थल तोडफोडको आरोपमा राजपा सांसद प्रमोद शाहलाई प्रहरीले गिरफ्तार गरेको छ । १५ दिनको अवधिमा तीनजना बहालवाला सांसदहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । कर्तव्य ज्यान मुद्दामा रेशम चौधरी जेलमा छन्भने कुटनैतिक राहदानी दुरुपयोग गरेको आरोप लागेका नारदमुनि राना सर्वोच्चको आदेश पर्खेर बसेका छन् । पूर्व राज्यमन्त्री सञ्जय शाह बम बिष्फोटमा दोषी भएर जेलमा छन् । त्यस्तै सांसद पार्वत गुरुङलाई पनि जिल्ला अदालत काठमाडौंले ज्यान मार्ने उद्योगको आरोपमा अदालतमा हाँजिर हुन आदेश दिएको छ । यसरी राज्यको पाँचौं बरियतामा रहेका सभामुख गिरफ्तार हुनु तथा मन्त्री भैसकेका र बहालवाला सांसद समेत प्रहरीले गिरफ्तार गरेर अनुसन्धान अघि बढाउँदै जानु राज्यमा कानुनी राजको सकारात्मक पाटो मान्न सकिन्छ । विरोधीहरुले के भने भन्दापनि राज्यमा कानुनी शासन ल्याउनका लागि के गर्ने भन्नेतर्फ नै सरकार केन्द्रीत हुनु वर्तमान र भविष्यका लागि पनि राम्रो कदम हो ।
नागरिकहरुले कार्वाहीको भागिदार बन्नुपर्ने र पहुँचवालाहरु त्यत्तिकै छुट्ने जुन परिपाटी रहेको थियो त्यसको अन्त्य भएको मान्न सकिन्छ पछिल्लो घट्ना क्रमलाई । विगतमा भएका घटनाहरुमा दोषी भएर पनि उन्मुक्ती पाएकाहरु अहिले कानुनी कठघरामा पुगेको यो अवस्थाले नागरिकहरुमा विगतको समयमा ददेखिएको निराशा अब आशा र भरोसामा बदलिन थालेको छ । पार्टीको पहुँचमा ढाकछोप भएका आपराधिक गतिविधि अब भने पक्कै पनि नियन्त्रणमा आउने देखिएको छ । बहालवाला सभामुख, सांसद तथा पूर्व माननीयहरु जेलको बासले गर्दा पहुँचकै आधारमा आपराधिक कार्य गरेर उम्कने कल्पना कसैले पनि नगर्दा हुन्छ । नीति र कानुन अनुरुप राज्य चलाउने हो । तर कानुनलाई आफ्नो पहुँचका आधारमा तोडमोड गर्ने र जनतालाई निराश बनाउने काम कसैले पनि गर्नुहुँदैन । देशको कानुन सबैका लागि हो । त्यसैले सानालाई ऐन ठूलालाई चैन होइन सबैलाई ऐन सबैलाई चैनको वातावरण बन्नुपर्छ ।
Previous Articleनेकपाको अगुवा कार्यकर्ता भेला–प्रशिक्षण
Next Article जिग्री-पाँडेविरुद्ध प्रहरीमा मिडिया हबको उजुरी