पश्चिम म्याग्दीको मालिका गाउँपालिकाले सामाजिक हिंसा विरुद्धको अभियानलाई प्रभावकारी बनाउने भएको छ । गाउँपालिकाभित्र शारिरीक, मानसिक तथा विभिन्न किसिमका हिंसा भोगिरहेकालाई लक्षित गरी २१ सदस्यीय समिति बनाइएको छ ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाको अध्यक्षतामा बनेको समितिले उपाध्यक्ष खरमाया बिटालुको सहजीकरण तथा वडास्तरमा सामाजिक हिंसा विरुद्धको अभियानलाई प्रभवकारी बनाउने निर्णय गरेको छ । हरेक प्रकारका हिंसाको अन्त्यका लागि अभियान सुरु गरिने र वस्ती–वस्तीमा पुगेर कार्यक्रम गरिने उपाध्यक्ष बिटालुले बताइन् । गाउँको विभिन्न वडामा हिंसात्मक गतिविधिहरु बढ्न थालेपछि पालिकाले त्यसलाई रोक्न अभियान थाल्ने तयारी गरेको जनाएको छ ।
समाजमा बालबालिका तथा महिलामाथि गरिने सामाजिक तथा बौद्धिक शोषण, दमन, यातना र दुव्र्यवहारलाई न्युनीकरण गर्ने अभियानमा मालिका गाउँपालिका भित्रका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिलाई सदस्यमा राखेर समिति गठन गरिएको छ ।
कार्यक्रममा दरबाङका वडा अध्यक्ष सन्तोष सुवेदीलगायत बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, गैरसरकारी संस्था, पेशागत संघसंस्था, आमा समूहसहित विभिन्न क्षेत्रबाट उपस्थिति रहेको थियो ।
Previous Articleकुहुँमा कांग्रेसको जागरण अभियान
Next Article रुप्से दैनिक ! ३० भाद्र २०७६