हिमाली जिल्ला म्याग्दीको प्रमुख तथा पर्यटकीय गन्तव्य पर्यटकीयस्थल घोरेपानीमा सडक पुगेको छ । गाउँपालिका र प्रदेश सरकारको सहयोगमा चित्रेदेखि घान्दु्रक गेटसम्म सडक सञ्जाल पुगेपछि पदैलमार्ग हुँदै घोरेपानी पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको हो ।
प्रदेशको ३२ लाख ७० हजार र अन्नपूर्ण गाउँपालिकाको १५ लाख रुपैयाँको लागतमा ५ किलोमिटर सडक निर्माण गरिएको वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले जानकारी दिए । प्रदेश पूर्वाधार विकास कार्यालयको अनुमानित बजेट ५३ लाख ४० हजार रुपैयाँ भए पनि स्थानीयवासीको जनश्रमदानसहित ३६ लाख ३८ हजार रुपैयाँको लागतमा सडक निर्माणसम्पन्न भएको उनले बताएका छन् ।
सात मिटर फराकिलो सडक निर्माणसँगै नियमित रुपमा सवारीसाधन चल्न थालेको उपभोक्ता समितिका अध्यक्ष बिरेन पुनको भनाइ छ । घोरेपानीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनलाई लक्षित गरी घान्द्रुकसहित विभिन्न रुटबाट आउने पदमार्गलाई समेत व्यवस्थित बनाउन पहल गरिएको घोरेपानी टोल सुधार समितिले जनाएको छ । कास्कीको पोखरा–नयाँपुल, घान्दु्रक हुँदै घोरेपानी र यता म्याग्दी सदरमुकाम बेनी–भूरुङ–तातोपानी, घार, शिख हुँदै घोरेपानी र नागी–महरेडाँडा भएर पुनहिलमा पर्यटकहरु जान्छन् ।
गाउँपालिकाको केन्द्र पोखरेबगर–घार–शिख हुँदै घोरेपानी सडक सञ्जालको प्रयोग गरी जाने पर्यटक पदैलमार्ग भएर घान्द्रुक तथा पुनहिलबाट देउराली हुँदै राम्चेबाट बेनीतर्फ आउन सकिने भएकाले पनि पदमार्ग र यातायातका साधनमा आवतजावत गर्नेलाई सहज हुनेगरी पर्यटकीय मार्ग बनाइएको छ । घोरेपानी जोडिने सडक सञ्जाललाई कास्कीको नयाँपुलसम्म पु¥याउने योजना समेत रहेको छ । पछिल्लोपटक विश्वकै उत्कृष्ट घुम्ने गन्तव्यमा कास्कीको घान्दुक परेपछि त्यसको प्रत्यक्ष फाइदा घोरेपानीले लिन सक्ने अवस्थामा सडक सञ्जालको प्रयोग गरी सयौं पर्यटकहरु आवतजावत गर्न सक्ने अनुमान गरिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रे जोड्ने १८ किलोमिटर ५ सय मिटर सडक कालोपत्रे गर्ने लक्ष्यसहित आयोजना अगाडि बढाएको छ । समुन्दी सतहदेखि ३ हजार २ सय १० मिटरको उचाइमा पुनहिल अवस्थित रहेको छ भने २ हजार ८ सय ७४ मिटरको उचाइमा घोरेपानी रहेको छ । बेलुका घोरेपानी गएर बास बस्ने तथा बिहान सबेरै उठेर पुनहिल जाने र त्यहाँबाट मनोरम हिमश्रृङ्खलाका साथै आकर्षक दृश्यावलोकन गर्न सकिन्छ ।
मगर जातीको कला, संस्कृति र रहनसहन, विविध प्रजातिका पशुपंक्षी, वनस्पतिको साथै सुर्योदयको अवलोकनका साथै स्थानीय कला तथा मगर नृत्यलगायत प्रस्तुत गरी पर्यटकलाई आर्कषित गर्ने गरिएको छ । ५ दशकअघि अन्नपूर्ण पदयात्रा मार्ग सुरु भएपछि बाटो हिँड्ने पर्यटकका लागि चिया, नास्ता खुवाउन खुलेका साना होटल तथा भट्टीले पर्यटकको बाक्लो आगमनसँगै सुविधासम्पन्न होटलहरू बनेका थिए । विश्वको उत्कृष्ट १० गन्तव्यभित्र पर्ने अन्नपूर्ण चक्रिय पदमार्ग अन्तर्गत घोरेपानी एक सुन्दर गन्तव्य हो । घोरेपानीमा आगामी असोज महिनामा प्रवासी म्याग्देलीको सम्मेलन हुँदैछ ।