हिमालपारीको जिल्ला मुस्ताङ र हिमाली जिल्ला म्याग्दीलाई राष्ट्रिय राजमार्गसँंग जोड्ने मालढुङ्गा–बेनी सडक दैनिक साढे ७ घण्टा बन्द गर्न लागिएको छ । आजदेखि पुरानो समयतालिका परिवर्तन गरी दैनिक साढे ७ घण्टा सडक बन्द गरिएको हो । यसअघि ८ घण्टा बन्द गर्ने गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय पर्वतमा मङ्गलबार बसेको सर्वपक्षीय बैठकले सडक बन्द हुने समयतालिका परिर्वतन गर्दै दैनिक साढे ७ घण्टा मात्रै सडक बन्द गर्ने निर्णय गरेको जनाएको छ । आजदेखि आउँदो २६ गतेसम्म बिहान ७ बजेदेखि ९ बजेसम्म तथा त्यसपछि बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म सडक बन्द गरिने भएको छ । दिउँसो २ बजेदेखि अपराह्न ४ः३० बजेसम्म कुश्मा नगरपालिका–१, मालढुङ्गादेखि जलजला गाउँपालिकाको डमुवाखोलासम्म सडक बन्द हुने पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले जानकारी दिएकी छिन् ।
यसअघि यही भदौ ५ गतेदेखि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरिँदै आएकोमा दिउँसो १ देखि २ बजेसम्म एक घण्टा सडक सञ्चालन गर्ने निर्णय भएको थियो । अदुवाबारीदेखि बागलुङ नगरपालिकाको बाङ्गेचौर जोड्ने झोलुङ्गे पुल निर्माणका क्रममा सडक बन्द गरिँदै आएको छ । कालीगण्डकी नदीमाथि निर्माण भैरहेको पुलको पर्वत खण्डमा लठो तान्नका लागि सहायक जग (एङ्कर ब्लक) निर्माण गर्नुपर्ने हुँदा मालढुङ्गा–बेनी खण्डको सडक बन्द गर्ने निर्णय गरिएको निर्माण कम्पनी थानीरबिएलटीरहिमशिखर जेभीका नरहरि खड्काले बताए ।
दैनिक साढे ७ घण्टा सडक बन्द हुने भएपछि पर्वतको मालढुङ्गा, जलजला हुँदै बेनी म्याग्दी, मुस्ताङ आवतजावत गर्ने सवारीसाधनलाई बागलुङ बजार भएर म्याग्दीको रत्नेचौरको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । साना र हल्का सवारीसाधन पर्वतको सहस्रधाराबाट पाङ हुँदै दमुवाखोलासम्मको वैकल्पिक सडक मार्ग समेत प्रयोग गर्न आग्रह गरिएको प्रजिअ घिमिरेको भनाइ छ ।