म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरमा दुई समूहबीच भएको ‘ग्याङ् फाइट’का क्रममा ५ जना युवा घाइते भएका छन् । रत्नेचौर युवा क्लबले आयोजना गरेको दोस्रो बृहत तीज मेलामा पुगेका बागलुङका युवकहरुबीच सोमबार बेलुका खेलकुद मैदान बाहिर झडप भएको जनाइएको छ ।
दुवै समूह बागलुङबाट मेला हेर्न आएको अवस्थामा खेलकुद मैदान बाहिर चक्कु र खुकुरीसहित धारिलो हतियारको प्रयोग गरिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले हतियारसहित ३ जना युवालाई नियन्त्रणमा लिइएको म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसार मरासिनीले जानकारी दिए । उनका अनुसार घाइते ५ जनाको बागलुङमा उपचार भैरहेको छ । घाइतेको शरिरका विभिन्न भागका चोट लागेको छ ।
घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्थाका बारेमा बुझ्ने प्रयास भएपछि योजनाबद्ध तरिकाले दुवै समूह आएको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा रहेको छ । बागलुङमा विगतको समयमा समेत ‘ग्याङ् फाइट’ हुने गरेको थियो । घटनास्थलबाट प्रहरीले थप अनुसन्धानका लागि केही यूवालाई सोधपुछ गरेको थियो ।
खेलकुद प्रतियोगिता समापनसँगै सांस्कृतिक कार्यक्रमको क्रममा झडप भएपछि मैदान बाहिर रहेका दर्शक समेत भागाभाग गरेका थिए । घटनामा संलग्न थप युवाहरुको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।