छिमेकी जिल्ला पर्वत र बागलुङमा डेंगु रोगका बिरामीहरु भेटिएपछि म्याग्दीमा उच्च सतर्कता अपनाइएको छ । पछिल्लो समय देशका विभिन्न जिल्लाहरुमा डेंगुका संक्रमित बिरामीहरु दिनहुजसो भेटिन थालेपछि म्याग्दी जिल्लामा सचेतना अभियान चलाइएको हो ।
जिल्ला प्रशासन कार्यालयको सभाहलमा सोमबार बसेको सरोकारवाला निकायको वैठकले डेंगुरोग विरुद्ध सचेतना अभियानसहित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही अनुसार मङ्गलबार सदरमुकाम बेनीमा बेनी नगरपालिका, जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालय म्याग्दीको संयुक्त आयोजनामा डेंगुरोग विरुद्ध सचेतनामूलक कार्यक्रम गरिएको छ ।
डेंगु रोगबाट बच्न म्याग्दीको बेनीमा लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने अभियान सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको चोकदेखि ¥यालीसहित न्युरोड–क्याम्पसचोक–शिक्षामार्ग हुँदै कालीपुल बसपार्क क्षेत्रमा पुगेर त्यहाँका ग्यारेज र बसपार्क क्षेत्रको सरसफाई गरिएको थियो । बेनी बजारवासीहरुलाई डेंगुबाट बच्नका लागि उच्च सुरक्षा सतर्कता अपनाउन अनुरोधका साथै पानी जम्ने गरी खुल्ला ठाउँमा राखिएका टायरहरु हटाउन सुझाव दिइएको छ । सडक र आसपासका ठाउँमा फालिएका फोहोर सङ्कलन गरी नष्ट गरिएको थियो ।
सचेतनामूलक कार्यक्रममा नगर प्रमुख श्रेष्ठ, म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, रघुगंगा गाउँपालिकाका अध्यक्ष भबहादुर भण्डारी, बेनपाका उपप्रमुख सन्जु बरुवाल, स्वास्थ्यकर्मी, नेपाली सेना, सशस्त्र प्रहरीसहित पत्रकार लगायतको सहभागिता थियो । छिमेकी कास्की, पर्वत र बागलुङमा डेंगु रोगका बिरामीहरु भेटिएका छन् । म्याग्दीमा अहिलेसम्म नदेखिए पनि उच्च जोखिम रहेकाले सतर्कता अपनाइएको स्वास्थ्य कार्यालयका प्रमुख प्रकाशराज शर्माको भनाइ छ ।
एडिस जातको पोथी लामखुट्टेले एकबाट अर्को व्यक्तिलाई टोकेर डेंगु सार्ने काम गर्दछ । दिउँसोमा सक्रिय हुने यो लामखुट्ट सफा पानी जमेको ठाउँमा बस्ने र फुल पार्ने गर्छ । टायर र पानी जम्ने ठाउँमा बस्ने भएकाले त्यस्ता ठाउँको पहिचान गरी बासस्थान नष्ट गर्ने अभियान चलाइने भएको छ । अन्य स्थानीय तहमा पनि सरसफाई र अव्यवस्थित रुपमा राखिएका टायरलाई व्यवस्थापन गरिने जनाइएको छ ।
डेंगुरोग एडिज एजिप्टाई नामक लामखुट्टेको टोकाइको कारणले सर्ने सरुवा रोग भएकाले यो रोग एक मानिसबाट अर्को मानिसमा लामखुट्टेको टोकाइले सर्दछ । भाइरसबाट हुने यस रोगको हालसम्म खोप तथा खास उपचार छैन । डेंगुरोग लागेपछि एक्कासी उच्च ज्वरो आउनु, ज्वरो ५–७ दिनसम्म रहिरहनु, आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्नु, शरीर कटकट्टी दुख्नु, शरीरमा बिमिरा आउनु र रक्तश्राव हुनु, जोर्नी, हड्डी तथा मांसपेशी दुख्नु, उच्च ज्वरोसँगै माथिका लक्षणहरुमध्ये दुई वा दुईभन्दा बढी लक्षणहरु देखापरेको खण्डमा डेंगु ज्वरो भएको शङ्का गर्न सकिन्छ ।
यसबाट बच्नका लागि समयमै अस्पतालमा पुगेर लाक्षणिक उपचार गर्ने, आफूखुशी अथवा चिकित्सकको सल्लाहविना कुनै ब्रुफिन, एस्पिरिन जस्ता दुखाई कम गर्ने औषधी कदापी खानुहुँदैन । डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्ने, दिउँसोको समयमा टोक्ने भएकोले पुरा शरीर ढाक्ने लुगा लगाउने र टोकाइबाट बच्ने मलम लगाउनुपर्दछ ।
Previous Articleजीप दुर्घटनामा चालकसहित चारजना घाइते
Next Article दुई समूहबीच ग्याङ फाइट