फर्जी बिल बनाएर अनियमितता गरेको आरोपमा स्वास्थ्य कार्यालय म्याग्दीका सहायक हेल्थ असिस्टेन्ट भरत आचार्यलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग काठमाण्डौले नियन्त्रणमा लिएको छ । गत आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानमा गरिएको कार्यक्रममा अस्वभाविक बिल भरपाई बनाएर कार्यालयमा पेश गरेको आरोपमा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।
स्वास्थ्य कार्यालयका गतवर्ष सम्पन्न भएका कार्यक्रममा बजार मुल्यभन्दा चारगुणा बढी मुल्य भएको बिल पेश गरेको पाइएपछि आचार्यलाई थप अनुसन्धानका लागि काठमाण्डौबाट खटिएको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको अख्तियारको क्षेत्रीय कार्यालय पोखराका सूचना अधिकारी मेघनाथ रिजालले बताए । यो मुद्दा पोखराले नहेरी केन्द्रबाट आएको टोलीले स्थलगत रुपमै पुगेर अनुसन्धान गरिरहेको उनले जानकारी दिएका छन् ।
टोलीको अनुसन्धानमा आचार्यले गरेका हरेक कार्यक्रममा खर्चभन्दा दुईतीन गुणा बिल बनाएको पाइएको छ । सहभागीको खाजादेखि अन्य विभिन्न शीर्षकमा चर्को बिल बनाएको पाइएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको जनाइएको छ । अख्तियारको टोलीले नियन्त्रणमा लिइएका आचार्यले बेनीबजारदेखि ग्रामीण क्षेत्रमा खाजा, स्टेशनरी, खानालगायत विभिन्न शीर्षकमा होटलमा स्थलगत रुपमा पुगेको थियो ।
गएको आर्थिक वर्षमा सम्पन्न कार्यक्रमवापत कार्यालयका आचार्यले नै पेस्की फछ्र्योट गरिदिने बाहनामा घुस मागेको भन्दै अख्तियारको सहयोगमा गत साउन १२ गते निमित्त कार्यालय प्रमुख भीमप्रसाद आचार्य, स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र चालक भवदत्त जैसीलाई टोलीले कार्यालयबाटै नियन्त्रणमा लिएको थियो ।
Previous Articleवडा सचिवविरुद्ध बलात्कार मुद्दा
Next Article पश्चिम म्याग्दीमा पहिलोपटक एटिएम सेवा