कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउनुहुँदैन । उक्त कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । आत्महत्याको सम्बन्धमा यस संहिताले ‘कुनै व्यक्तिले आफ्नो जीवन आफैले समाप्त गर्ने वा आफ्नो हत्या आफैले गर्ने कार्यलाई आत्महत्या भनिन्छ । आत्महत्याको उद्योगलाई अपराधको रुपमा परिभाषित गर्नु उचित हुने वा नहुने सम्बन्धमा फौजदारी विधिशास्त्र विवादको रुपमा रहेको छ । आत्महत्याको प्रयास गर्ने व्यक्ति आफैमा पीडित हुनेहुँदा उसलाई सजाय होइन उपचारको आवश्यक हुन्छ भन्ने प्रबल धारणा एकातिर रहेको पाइन्छ भने यसलाई निरुत्साहित गर्नको लागि अपराधको रुपमा परिभाषित गरी केही सजाय गर्नुपर्छ भन्ने अर्को धारणा रहेको पाइन्छ । कतिपय देशका फौजदारी कानुनले आत्महत्याको उद्योगलाई अपराधको रुपमा परिभाषित गरी कम सजाय तोक्ने गरेको पाइन्छ । भारतीय दण्डसंहिताको दफा ३०९ बमोजिम आत्महत्याको प्रयास सफल नभएमा सो उद्योग हुने आत्महत्याको उद्योगलाई निषेध गरी एक वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । आत्महत्याको दुरुत्साहनलाई आत्महत्याको उद्योगभन्दा गम्भीर अपराधको रुपमा लिइन्छ । कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिने वा आत्महत्या गर्नुपर्ने सम्मको परिस्थिति खडा गरी आत्महत्या गर्न बाध्य पार्ने कार्यलाई अपराधको रुपमा निषेध गरी सजायको व्यवस्था गर्ने फौजदारी विधिशास्त्र भित्र एक स्वीकृत मान्यता हो । भारतीय दण्ड संहिताको दफा ३०५ बमोजिम बालक वा मानसिक अवस्था ठीक नभएको व्यक्तिलाई आत्महत्याको लागि दुरुत्साहन गर्ने कार्यलाई निषेध गरी मृत्युदण्ड वा जन्म कैद वा दश वर्षसम्म कैद र जरिवानाको व्यवस्था गरिएको छ । यसैगरी दफा ३०६ बमोजिम आत्महत्याको लागि दुरुत्साहन गर्ने कार्यलाई निषेध गरी दश वर्षसम्म कैद र जरिवानाको व्यवस्थाम गरेको पाइन्छ ।’
त्यसकारण आत्महत्याको दुरुत्साहन दिने कुरालाई हाम्रो संहिताले आपराधिकरण गरेको पाइन्छ । असफल आत्महत्या प्रयासलाई भने यसले अपराध मानेको पाइँदैन । असफल आत्महत्या प्रयासलाई अपराधिकरण गर्दा त्यो मानिसलाई झन बाँच्न गाह्रो हुन्छ । यसै विभूतिले आफ्नो पुस्तकमा लेखेका छन । बेलायतमा आत्महत्या ऐन १८६१ ले असफल आत्महत्यालाई अपराधिकरणबाट बाहेक घटाएको छ । यसको तर्क के छ भने जुन मानिसले आफ्नो ज्यान लिनलाई प्रयास गर्छ उसलाई समाजको सक्रिय सहानुभूतिको आवश्यकता हुन्छ नकी सामाजिक घृणा वा सजाय । तर भारतीय दण्ड संहिताको असफल आत्महत्या प्रयासलाई आपराधिकरणबाट बाहेक गर्न भारतीय सर्वोच्च अदालतले पनि इन्कार गरेको दृष्टान्त दिँदै भारतीय कानुन आयोगले यथावत राख्ने सन्दर्भमा निम्न अनुसार पुष्टि गरेको छ । बढ्दै गरेको लागूऔषध ओसारपोसार देशको विभिन्न भागमा आतङ्ककारी गतिविधिका मानव बलले यो विषयमा पुनः विचार गरी असफल आत्महत्यालाई यथावत राखेको पाइन्छ । आतङ्ककारी वा लागूऔषधका कारोवारीहरु जसले साइनाट चक्की खाने प्रयासबाट वा मानव बमबाट लक्षित व्यक्तिसहित आफैलाई समाप्त पार्न असफल हुन्छन । यसरी बेलायती कानुनी संरचना र भारतीय दण्ड संहिताले आ–आफ्नो देशको सन्दर्भलाई हेरेर असफल आत्महत्या प्रयासको व्यवस्था गरेका छन । यसरी असफल आत्महत्या प्रयासलाई सामाजिक सक्रिय सहानुभूति उपचारको सेवा गरी बाँच्ने आषा जगाउनुपर्ने तर्फ लक्षित छ । तसर्थ प्रस्तुत असफल आत्महत्या प्रयासलाई अपराध मानेको पाइँदैन । तर, आत्महत्या गर्न दुरुत्साहन दिनेलाई भने यो संहिताले अपराध मानी सजायको व्यवस्था गरेको छ । नेपालमा आत्महत्याको लागि सहायता वा दुरुत्साहन दिने कार्यलाई अपराध मानेको थिएन । तर पनि एक अर्काले एक अर्काको साथमा सँगै मर्न खोजेका तथ्यहरु केही मुद्दाहरु अदालतमा आउने गरेको पाइएकाले यसलाई आत्महत्याको सम्झौता मान्ने गरिन्छ । तर एउटा मर्न गएको र अर्को भने उपचार पछि बाँच्दा ज्यानको आक्षेप लाग्ने गरेको छ । प्रतिवादी ‘ख’ कुमारीको मुद्दामा विवाह हुन नसके सँगै मर्ने भनेकोमा विष सेवन गराएको निष्कर्ष लिएको छ । यो मुद्दामा जाहेरवालाको छोरा कुमार कक्षा १० मा अध्ययनरत विद्यार्थी भएको र ‘ख’ कुमारीसँगै पढदा माया प्रेम हुन जान्छ । घटना घटेको दिन यी ‘ख’ कुमारी कुमारको कोठामा गएकी हुन्छिन् । यी प्रतिवादीले दिएको बयान यस प्रकार छ म कुमारको कोठामा गएपछि आफूलाई बोलाएको कारणबारे सोध्दा निजले यसपाली विवाह गर्नको लागि दवाव दिइरहेका हुँदा विवाह गर्नुपर्दछ । प्रतिवादीले हाम्रो विवाह गर्ने उमेर पनि नभएको र जातपात पनि नमिल्ने भएको हुँदा कलिलो उमेरमा अन्तरजातीय विवाह नगरौं । पछि उमेर पुगेपछि म विचार गरौंला भन्दा निजले हुँदैन तिमीलाई मैले विवाह गर्ने हो की दुवैले विषसेवन गरी सँगै मर्ने हो भनी जबरजस्ती गरेकाले म प्रतिवादीले केही जवाफ नदिई चुप लागि बसिरहेकीले निजले विषसेवन गर्ने स्वीकृती पाए जस्तो मानेछन् । त्यसपछि हामी दुवै जना मिली चिया बनाई मृतकले चियामा पहिल्यै लगिराखेको विष निकाली मिलाएपछि मैले एक घुट्को पिएपछि तीतो भएको र घरमा कोही कसैलाई केही नभनी निस्केकीले मर्नदेखि डर लागि खाइन । तर कुमारले २, ३ पटक खाएका र तिमीले पनि नखाउ भनी मेरो जुठो गिलासको चिया कुमारको गिलासमा खनाइदिई घरमा गएकी र विषको प्रभावले लडेपछि आमाले के भयो भनी सोध्दा मैले विष खाएको भनेकीले उपचारको लागि पाटन अस्पतालमा तत्काल उपचार गराएकाले म बाँच्न सफल भएकी हुँ । निज मृतक कुमारले सो विषसेवन गरेको कारण मृत्यु भएको हो । मैले चियामा विष मिलाई मारेको होइन । यो मुद्दामा पहिलो जाँचबाट चियामा विषादी पाइएको थिएन तर पछिल्लो विशेष जाँचबाट कुकुर मार्ने विषादी पाइन्छ । यो मुद्दामा मृतकको परिवारबाट विवाह गर्ने दवाव आएको र निज मृतक र प्रतिवादीबीच विवाह हुन नसक्ने स्थितिमा पुगी आपसी सरसल्लाह र सहमतिबाट आत्महत्या गर्ने निष्कर्षमा पुगी चिया बनाई उक्त चियामा विष मिलाई सेवन गरी उक्त वारदात हुन गएको देखिन्छ भन्ने अदालतको तर्क रहेको छ । उक्त विष छिमेकीको कुकुर मार्नको लागि प्रतिवादीकी आमाले ल्याएको भन्ने विवाद उठेको प्रमाण मिसिलमा सम्लग्न रहेको छ । अर्को तर्फ प्रतिवादीले छली काम गरेको देखिन्छ । मृतक कुमारलाई आत्महत्या गर्न सहायता पनि यसमा आएको देखिन्छ । कुकुर मार्ने विष ल्याएर हालेको देखिन्छ । यो कुरा मृतकले आफ्नो आसन्न मृत्युवरण गर्नु अगाडि कापीमा प्रतिवादीले विष मिलाएर आफूलाई खुवाएको र प्रतिवादी आफू घर गएको कुरा लेखिएको व्यहोराको नोट समेत फेला पारी प्रमाणको रुपमा अदालतले लिएको देखिन्छ । तर प्रतिवादीबाट यसमा तथ्यहरु समेत छुट्न गएको जस्नो पनि देखिन्छ । अर्को तथ्य के छ भने यो घटना मृतकको कोठामा भएको छ । प्रतिवादीले नभई मृतक आफैले चिया पकाएको देखिन्छ । त्यसैले यो मुद्दामा सत्यतथ्य के हो भन्ने सन्दर्भमा नै विवाद देखिन्छ । तसर्थ, कुनै पनि व्यक्तिबाट अर्को व्यक्तिलाई आत्महत्यामा गर्न उक्साउने, विश्वास दिलाउने, उत्तेजनामा ल्याउने र बाँच्नको लागि सहानुभूतिका सट्टा मर्न सु¥याउने तथा मर्नेबाहेक अरु विकल्प छैन भन्ने अवस्थामा पु¥याउनु नै आत्महत्या दुरुत्साहन हो ।