म्याग्दीको बेनी नगरपालिका–५, गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको रथयात्राका लागि आवश्यक तयारी सुरु भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा बिहीबार सदरमुकाम बेनीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी रथयात्राबारे जानकारी गराइएको हो ।
पत्रकार भेटघाट कार्यक्रममा आयोजक समितिका कोषाध्यक्ष रामचन्द्र पौडेलले यही साउन २७ गते सोमबार श्रावण शुक्ल द्वादशी तिथिका दिन रथयात्रा कार्यक्रम तय भएको जानकारी दिए । उनले हरेक वर्ष श्रावण शुक्ल द्वादशी तिथिमा भगवान् जगन्नाथको मन्दिर परिसरमा रथयात्रा गर्ने परम्परा रहिआएको बताउँदै उक्त दिन प्रत्यक्ष रुपमा जगन्नाथको दर्शन गर्न पाइने बताएका छन् । वर्षको एकपटक सर्वसाधारणका लागि मूर्ति खुल्ला गर्ने गरिएको छ ।
रथयात्रा कार्यक्रमका लागि हालसम्म पत्राचार, प्रचारप्रसारलगायत आवश्यक सबै तयारीलाई अगाडि बढाइएको समितिका सचिव निलकण्ठ शर्माले बताए । उनका अनुसार रथयात्रा कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले गर्ने कार्यक्रम तय गरिएको छ । रथयात्रासँगै सरकारी भोज (खिरखाने) कार्यक्रम समेत आयोजना गरिएको सचिव शर्माको भनाइ छ । ऐतिहासिक पर्वत राज्यका समालवंशी तृतीय मल्लराजा दिलिपबम मल्ल (डिम्ब)ले १५६० तिर भारतको उडिसा राज्यबाट भगवान जगन्नाथको मूर्ति ल्याएर गाजनेको हलहलेचौरमा स्थापना गरेका थिए ।
सोही समयदेखि नै गाजने गाउँमा कुखुरा, बंगुर र सुंगुरपालन तथा अवैध घरेलु मदिरा उत्पादनमा रोक लगाइएको छ । प्रसिद्ध जगन्नाथ मन्दिरभित्र भगवान् जगन्नाथसहित राम, लक्ष्मण, कृष्ण, बलराम, चतुर्वाहु, नृसिंह, गणेश र विष्णुका अवतार मूर्तिहरु रहेका छन् । मन्दिरभित्र रहेका अधिकांश मूर्तिहरु धातुको सहायताबाट बनाइएको छ । समुन्द्री सतहदेखि २ हजार मिटरको उचाइमा अवस्थित जगन्नाथ मन्दिर जिर्ण बन्दै गएपछि २०६९ सालको मंसिर महिनामा साप्ताहिक महायज्ञ लगाई त्यसबाट सङ्कलित रकमले मन्दिरको पुनर्निर्माण गरिएको छ ।
गण्डकी पर्यटन सरोकार केन्द्र म्याग्दीका सचिव दीपक पौडेलले सञ्चालन गरेको पत्रकार सम्मेलनमा अध्यक्ष भरत केसी, जगन्नाथ मन्दिर निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँ, पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्मा, संस्थापक अध्यक्ष घनश्याम खड्कासहित जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।
Previous Articleबेनपा–६ पत्रकार तथा अन्यलाइ सम्मान
Next Article आत्महत्या गर्न दुरुत्सान दिन नहुने