लालबहादुर ऋतम्भरा
पति वियोगमा शोकाकुल युवती झै
मेरो गाउँ विरुप पीडामा छ
हराएको छ गाउँको सौन्दर्यता
आडम्बरयुक्त तामझाम,
जीवन गुजार्नका लागि भाग दौड
शहरको सास्तीबाट उन्मुक्ति खोज्दै
नआउ मेरो गाउँ
शितल चौतारी खोज्दै
वरपीपलको वैमनस्यतामा
भत्किएका छन् चौतारीहरु
पहिला जस्तो पिपलपाते मुस्कान
छैन, गाउँको मुहारमा
मेरो गाउँ, गाउँ जस्तो छैन अचेल
गाउँबाट रित्ता झोला सहर पस्छन्
भरिएर फर्किन्छन्
भरिभराउ गाउँ पुग्छन्
सहरबाट मालवाहक गाडीहरु
फर्किन्छन् रित्तो अस्थिपञ्जर लिएर
यसरी शहर पसेको छ
मेरो गाउँमा
मेरो गाउँमा छैनन् मैच्याङ मारुनी
छैनन् कला र गला
जसले गाउन या नाचुन झ्याउरे, सोरठी
रत्यौटी, चाँचरी र घाटु
सालैजो र कौडा
आफ्नो जवानीमा शहरको ग्ल्यामरस मिसाएर
कृतिम हाँस्छ
कृतिम बोल्छ
गाउँको आनीवानीमा
सहरको हावापानी मिसिएको छ
जहाँ ऋण धनको कुरा हुन्छ
अर्मपर्मका कुरा हुन्न
किनबेचको कुरा हुन्छ
एैचोपैचोको कुरा हुन्न
हिसाब गरेर व्यवहार हुन्छ
निसाफ हेरेर हुन्न
खोजेका हौ भने
मौलिक सौन्दर्यता
गाउँको आत्मीयता र हार्दिकता
गाउँको संगीत र गायकी
भैगो नआउ मेरो गाउँ
सारङ्गीका तार छिनेका छन्
मादलको खरी झरेको छ
डम्फुमा प्वाल परेको छ
खैजडी मुजुरामा खिया लागेको छ
यतिवेला युट्युव हेर्छ
डाउनलोड संगीतमा झुम्छ र
गितारमा राग लगाउँछ मेरो गाउँ
शहरको स्वार्थबाट आहत भएर
राहत खोज्दै भैगो नआउ मेरो गाउँ
सहरकै छायालाई च्यादर बनाएर
ओढी बसेको छ
एउटा अधकल्चो शहर भएर मेरो गाउँ
–तित्याङ, बागलुङ