उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाले छोरी जन्मिदा मुद्धती खाता खोलिदिने भएको छ । स्वास्थ्य संस्थामा छोरी जन्मिए मुद्धती खाता खोलेर तीनसय रुपैयाँ जम्मा गर्ने रघुगंगा ‘छोरी पेवा बचत’ कार्यक्रम सुरू गरेको हो ।
मङ्गलबार गाउँकार्यपालिकाको बैठकले कार्यविधि पारित गर्दै गाउँपालिकाले एक परिवारभित्र जन्मिएका दुई छोरीको बैंक खातामा गाउँपालिकाले एकसय, अध्यक्ष भवबहादुर भण्डारीले सरकारी सेवासुविधा जम्मा गरेको कोषबाट एकसय र अभिभावकले एकसय जम्मा गर्नुपर्ने व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए ।
छोरी जन्मिएपछि समाजमा नकारात्मक दृष्टिकोणले हेर्ने परम्परालाई तोड्दै कार्यक्रमले सघाउने बताइएको छ । कार्यविधिमा अभिभावकले १० वर्षको छोरी भएलगत्तै वार्षिक आम्दानीको ५ प्रतिशत जम्मा गर्नुपर्नेछ । आम्दानीका बारेमा वडा कार्यालयबाट जनप्रतिनिधिले समेत अवलोकन गर्ने र जम्मा नगरे ताकेता गरिने छ ।
छोरीको नाममा रकमसहितको बैंक खातामा २० वर्षसम्म रकम निकाल्न नमिल्ने प्रावधान रहेपनि अति गरिब तथा विपन्नले वडा कार्यालयको सिफारिसमा छोरीको शिक्षादिक्षामा सघाउ पुग्ने गरी १० वर्षपछि रकम प्रयोग गर्न मिल्ने व्यवस्था राखिएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए । उनले एक परिवारभित्र दुईवटा छोरी भएपछि स्थायी बन्ध्याकरण गर्नेलाई समेत प्रोत्साहन गर्नेगरी थप कार्यक्रम ल्याउने बताएका छन् ।
गाउँपालिका अध्यक्ष भण्डारीका अनुसार छोरी पेवा बचतमा निक्षेप राखी उच्च शिक्षा अध्ययनका बेला उपयोग गर्ने सहज हुनेछ । छोरीकै नाममा हुने खाताको संरक्षक अभिभावक र गाउँपालिका हुनेछन् । छोरीको २० वर्षको उमेर अगाडि नै विवाह गरेमा खातालाई गाउँपालिकाको आम्दानीमा रुपान्तरण गरिनेछ । गाउँकार्यपालिकाले पेवा बचतसहित २० वटा विभिन्न निर्णय गरेको वडा अध्यक्ष एवं प्रवक्ता जीवनकुमार मल्लले बताए ।
Previous Articleअपराध नियन्त्रणमा प्रहरीको सक्रियता बढ्दै
Next Article बोलेरो दुर्घटना १३ जना घाइते