पर्वत, १९ कात्तिक – कालीगण्डकीमा जल यातायात (स्टिमर) सञ्चालन भएपछि आन्तरिक पर्यटक बढ्नुका साथै यसले सेवा दिने क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको मूल्य घटेको छ । मिर्मी जलविद्युत् परियोजनाको बाँध निर्माणपछि बनेको तालमा कालीगण्डकी जल यातायात व्यवसायी समितिले स्टिमर सञ्चालनमा ल्याएको हो ।
गुल्मी, पर्वत र स्याङ्जाको संगमस्थलमा पर्ने मिर्मी जलविद्युत् परियोजनाको बाँधले बनाएको तालमा स्थानीय व्यवसायीले काठको ढाँचामा ट्रकका इन्जिन उपयोग गरेर बनाइएको स्टिमर सञ्चालन गर्दै आएका छन् । वर्षातको समयमा कालीगण्डकीको बहाव बढ्ने भएकाले स्टिमरको सेवा बन्द थियो । पानीको बहाव घटेसँगै सञ्चालन सुरु गरिएको हो । पछिल्ला दुई वर्षमा कालीगण्डकी करिडोरअन्तर्गतको हर्मिचौर–पूर्तिघाट सडक सञ्चालन भएपछि जलयात्रा गर्ने गाउँलेको संख्या घटेको थियो । स्थानीय व्यवसायीको पहलमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस क्षेत्रमा पुनस् स्टिमर सञ्चालनमा ल्याइएको हो ।
स्थानीय व्यवसायी प्रेम अर्यालले भने, ‘गाडीबाट भन्दा स्टिमरबाटै ढुवानी पनि सस्तो पर्ने भयो ।’ उनका अनुसार स्टिमर सञ्चालन भएपछि प्रतिकिलो ३ रुपैयाँ पर्ने ढुवानी भाडा १ रुपैयाँमा झरेको छ । बुधबारदेखि सञ्चालनमा आएका स्टिमर प्रतिदिन १५ देखि २० पटकसम्म आवतजावत गर्ने गरेका छन् । मिर्मी बाँधदेखि गुल्मी र स्याङ्जाको धार्मिकस्थल एवं एसियाकै ठूला शिला शालिग्राम रहेको सेतीवेणी बजारसम्म झन्डै ७ किमि दूरीमा कालीगण्डकीको पानीमाथि स्टिमर चल्ने गरेको छ । दुई ठूला पहाडको खोंचबाट सुस्त गतिमा बढेको कालीगण्डकीको पानीमाथि स्टिमर चढेर यात्रा गर्दाको आनन्द बेग्लै हुने गरेकाले पर्यटक रमाउने सेतीवेणीका होटल व्यवसायी शोभाखर तिवारीले बताए ।
‘स्टिमर चलेपछि सेतीवेणी बजारमा चहलपहल बढेको छ,’ उनले भने, ‘पर्यटक भित्र्याउन भए पनि स्टिमर चल्नुपर्छ ।’ कालीगण्डकी जलविद्युत् परियोजनाका प्राविधिक मुक्तिराम पाण्डेले पनि स्टिमर चल्दा र नचल्दाको यस क्षेत्रको अनुभव नै फरक हुने गरेको बताए । ‘सय रूपैयाँ भाडामा बढीमा ४५ मिनेटमा ७ किमि यात्रा सकिन्छ,’ उनले भने, ‘स्टिमरमा हिँड्नु नेपालकै नौलो यात्रा अनुभव हो ।’ काठले बनेका, इन्जिनबाट चल्ने यस्ता स्टिमर अन्यत्र नरहेकाले पनि यसमा बसेर यात्रा गर्नेहरू रमाउने उनले बताए ।
यसबाट पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने उनले बताए । अर्बेनीको शालिग्राम उच्चमाविका शिक्षक पशुपति न्यौपानेका अनुसार अहिले विद्यार्थीको अध्ययन अवलोकन भ्रमण आउने गरेका छन् ।