रुप्से दैनिक/ स्वास्थ्य कार्यालय म्याग्दीमा एक कर्मचारीले प्रशासनको अनुमति बिनै सुटुक्क ताला तोडेका छन् । गत साउन १२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले कार्यक्रमको पेश्की फस्र्यौटमा संलग्न स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुखसहित ४ कर्मचारीलाई नियन्त्रणमा लिएपछि लगाइएको ताला तोडिएको हो ।
कार्यालयका तथ्याङ्क सहायक मेघनाथ रेग्मीले कर्मचारी नभएको मौका छोपी ताला तोडेर बिहीबार दिउँसो कार्यालय प्रमुख जनस्वास्थ्य निरीक्षक भीमप्रसाद आचार्य, स्टोरकिपर रघुनाथ रेग्मीको कार्यकक्षमा प्रवेश गरेका थिए । तथ्याङ्क सहायक रेग्मीले प्रशासन शाखाको ताला तोडेर र कार्यालय प्रमुखको ताला कर्मचारी नभएको मौकामा प्रवेश गरेपछि अख्यिारको नियन्त्रणमा रहेका कर्मचारीका आफन्तले प्रशासनमा प्रमाण नष्ट गर्ने प्रयास गरेको भन्दै निवेदन दिएका थिए ।
औजार प्रयोग गरी ताला तोडेर प्रवेश गरेको अवस्थामा अख्तियारको नियन्त्रण बाहिर रहेका कर्मचारीले आफ्नो कमजोरी लुकाउन प्रमाण नष्टको प्रयास गरेको आशङ्का गरिएको छ । कार्यालय सहयोगी लेककुमारी सुवेदी कार्यालयबाट बाहिर गएको अवस्थामा ताला तोडेर नयाँ ताला प्रयोग गरिएको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले बताए । प्रहरीले प्रशासन शाखाको ताला तोडेको अवस्थालाई थप अनुसन्धान गर्नुपर्ने जनाएको छ ।
कार्यालय सहयोगीसँग भएको ताला प्रयोग नगरी कर्मचारी नभएको मौकामा तोडेर प्रवेश गर्नुलाई रहस्यमय मानिएको छ । गएको आर्थिक वर्षमा सम्पन्न कार्यक्रमवापत कार्यालयका कर्मचारी भरत आचार्यले पेस्की फछ्र्यौट गरिदिने बाहनामा घुस मागेको भन्दै अख्तियारको सहयोगमा एकलाख ३० हजार रुपैयाँसहित नियन्त्रणमा लिएका थिए ।