म्याग्दीको सदरमुकाम बेनीबजारमा बिहीबार क्षमता अभिवृद्धिसम्बन्धी तालिम सम्पन्न भएको छ । गुड नेबर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा संगम म्याग्दीको आयोजनामा सामुदायिक विकास समिति र परियोजना व्यवस्थापन समितिका लागि तालिम सञ्चालन गरिएको हो ।
तीन दिनसम्म चलेको तालिममा गुड नेबर्स इन्टरनेशनल म्याग्दीका संयोजक द्रोण जिसी, संगम म्याग्दीका अध्यक्ष दीपक पौडेल र सामुदायिक विकास परियोजनाका शिक्षा विकास अधिकृत चन्द्रप्रसाद बुढाले सहजीकरण गरेका थिए । तालिम समापनका क्रममा गुड नेबर्सका संयोजक जिसीले तालिममा सिकको ज्ञान र सिपलाई पूर्णरुपमा व्यवहारमा उतार्न आग्रंह गर्दै समुदायस्तरमा प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका थिए ।
परियोजना सञ्चालनका लागि पदाधिकारीको क्षमता बढाउन र समुदायमा सञ्चालन हुने गतिविधिलाई प्रभावकारी बनाउन तालिम आयोजना गरिएको जनाइएको छ । तालिममा परियोजना व्यवस्थापन समिति र समुदाय विकास समितिबाट १७ जनाको सहभागिता रहेको थियो । तालिमको अवसरमा परियोजना व्यवस्थापन समितिको वैठक समेत सम्पन्न भएको छ । वैठकले यसअघि समुदायस्तरमा सञ्चालन गरिएको कार्यक्रमको समीक्षा गनुका साथै आगामी योजना पनि बनाएको परियोजनाले जनाएको छ ।
कदम म्याग्दीका निवर्तमान अध्यक्ष हरिप्रसाद पौडेलको उपस्थिति रहेको वैठकमा बालविवाह न्युनीकरणमा परियोजनाको भूमिका, विद्यालय छाडेका विद्यार्थीहरुलाई पुनः विद्यालयमा फर्काउन विशेष पहल, समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेलगायत विभिन्न विषयहरुमा छलफल, अन्तरक्रिया र निर्णय गरिएको छ । गुड नेबर्स इन्टरनेशनलको सहयोगमा जिल्लामा संगम म्याग्दीले उद्यमसिलता विकास र कदम म्याग्दीले स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेका छन् ।
लुलाङमा फुलमाया बुढाको अध्यक्षतामा रहेको सामुदायिक विकास परियोजनाले गाउँमा आयआर्जन तथा शैक्षिक कार्यक्रम सञ्चालन, बालविवाह न्युनीकरणसहित समुदायमा सचेतनामूलक अभियान, सरसफाई, विद्यालय भर्ना अभियान, स्वास्थ्य संस्थालाई सामाग्री सहयोग, महिनावारी स्वच्छता, मातृशिशु सचेतना, महिला स्वास्थ्य स्वयंसेविकाहरुमार्फत गाउँमा स्वास्थ्यसम्बन्धी गतिविधिहरु सञ्चालन गरिएको छ ।
सोही अवसरमा ‘बालविवाहको अन्त्य हामी सबैको सरोकार, समुन्नत समाज सुनिश्चित बालअधिकार’ भन्ने मूल नारासहित धौलागिरी गाउँपालिका निवासी सामुदायिक विकास परियोजना व्यवस्थापन समिति र सामुदायिक विकास समितिका पदाधिकारीहरुले बालविवाह विरुद्ध अभियान सञ्चालनका लागि प्रतिबद्धता जनाएका छन् ।