हिमाली जिल्ला म्याग्दीको प्रमुख जिल्ला अधिकारी भएर १५ महिनाको बसाइपछि मङ्गलबार प्रजिअ लीलाधर अधिकारी औपचारिक रुपमा विदाई भएका छन् । अध्यागमन विभाग त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको वरिष्ठ सहायकका रुपमा सरुवा भएपछि जिल्लावासीसँग छुट्टिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीको सभाहलमा आयोजित विदाई कार्यक्रममा बोल्दै प्रजिअ अधिकारीले म्याग्दी बसाइका क्रममा आफूले गृह प्रशासन सुधार कार्यक्रम अन्तर्गत कार्यालय सुधारका लागि विभिन्न कार्य गरेको बताए । उनले जिल्लामा ‘एक वडा, एक हेलिप्याड’को अभियान सञ्चालन गरी स्थानीय तहको समन्वय र सहयोगमा जिल्लाभर ३३ ओटा हेलिप्याडहरु बनाइएको जानकारी दिए ।
यसैगरी जिल्ला बसाइका क्रममा माननीयहरु, राजनीतिक दल, स्थानीय जनप्रतिनिधि, कार्यालय प्रमुख, गैरसरकारी संघसंस्था, निजी क्षेत्र र पत्रकारलगायत सबै क्षेत्रबाट आफूले महत्वपूर्ण सहयोग पाएको प्रजिअ अधिकारीले बताएका छन् । उनले जिल्ला प्रशासनमा दर्ता भएका मुद्दा फस्र्यौट कार्यलाई तीव्र रुपमा अगाडि बढाएको, सामान्य सिफारिसको राहदानीलाई छोटो समयमै उपलब्ध गराउने व्यवस्था गरेको, जिल्ला आपत्कालीन उद्धार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको जस्ता विभिन्न कार्यसम्पादत गरेको बताए ।
त्यस्तै प्रजिअ अधिकारीले कालीगण्डकी करिडोर प्रसारण लाइनलाई तीव्र बनाउनुपर्ने, बेनी–जोमसोम सडक आयोजना निर्माणमा तीव्रता दिनुपर्ने र अब म्याग्दी जिल्लामा सडक निर्माण गर्नेभन्दा पनि सडकको स्तरोन्नतितर्फ ध्यान दिन स्थानीय तहलाई आग्रह गरेका छन् । भू–उपयोग नीति बनाएर जिल्लामा विकास निर्माणका काम गर्न सकिने भएकाले म्याग्दी जिल्ला पर्यटनका हिसाबले पर्याप्त सम्भावना बोकेको हुँदा धेरै विकास गर्न सकिने बताउँदै विकासमा रणनीतिक प्रतिस्पर्धा हुनुपर्ने प्रजिअ अधिकारीको भनाइ छ ।
त्यसैगरी मोरङ जिल्ला अदालतमा सरुवा भएर जान लागेका न्यायाधीश राजकुमार कोईरालाले निर्वाचनका क्रममा जिल्लाका राजनीतिक दल र सबै क्षेत्रबाट ठूलो सहयोग मिलेको बताए । उनले स्थानीय तहले न्यायिक सम्पादनमा राम्रो कामको सुरुवात गरेको भन्दै अदालतमा आउने मुद्दाको सङ्ख्यामा कमी आएको जानकारी दिएका छन् । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले विदाई भएर जान लागेका प्रजिअ, न्यायाधीश र सशस्त्र डिएसपी जिल्लामा रहँदा उत्कृष्ट कार्यसम्पादन गरेको बताए । सबैसँग समन्वय र सहकार्य गरी नागरिकको कामलाई प्राथमिकता दिएकोमा उनीहरुलाई धन्यवादज्ञापन गरेका थिए ।
Previous Articleबेनी अस्पतालमा बिरामीको चाप बढ्यो
Next Article पत्रकार खत्रीलाई शिक्षा पत्रकारिता पुरस्कार