बागलुङ, १८ कात्तिक/नेपाल पत्रकार महासंघ बागलुङ शाखाको सुविधा सम्पन्न भवन निर्माणका लागि फेसवुकमा सुरु गरिएको आर्थिक अभियानबाट एक हप्तामै ५६ हजार रकम संकलन छ । बागलुङ नगरपालिका–२ मा भुकम्प प्रतिरोधि ३ तले भवन बनाउन कार्तिक ११ गतेदेखि सुरु गरिएको अभियानमा स्थानिय स्तर र विदेशबाट सहयोग प्राप्त भएको नेपाल पत्रकार महासंघ बागलुङ साखाका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले जानकारी दिए । फेसवुकबाट एकै जनाले ३ हजारदेखि २० हजारसम्म सहयोग गरेका छन् । अहिलेसम्म नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद् तथा बागलुङ एफएमका स्टेशन म्यानेजर ज्ञानेन्द्र गौतमले सबै भन्दा धेरै २० हजार रुपैयाँ सहयोग गरेका छन् । केन्द्रिय पार्षद्द्वय दिनेश पन्त र खगराज गैतम, माओवादी केन्द्रका नेता चन्द्रबहादुर थापा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापा, नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय सदस्य कुशुम बुढा र युवा मिलन केसीले ५÷५ हजार रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै सामुदायिक बन उपभोक्ता महासंघ बागलुङका अध्यक्ष प्रेम लामिछाने र स्थानिय युवा व्यवासायी गगन पुनले ३÷३ हजार रुपैयाँ सहयोग गरेका छन् । फेसवुक अभियानबाट ३० लाख जुटाउने लक्ष्य राखिएको छ । पत्रकार महासंघको कार्यलय रहने गरि निर्माण गरिने भवनमा सुचना केन्द्र, बिद्युतिय पुस्तकालय र सुविधा सम्पन्न तालिम हल बनाउने लक्ष्य राखिएको छ । भवन निर्माणका लागि ६० लाख रकम आबश्यक पर्नेमा जिल्ला विकस समिति बागलुङले ५ लाख र बागलुङ नगरपालिकाले २ लाख ५० हजार बजेट विनियोजन गरेका छन् । ‘१ लाखको संख्यामा विभिन्न विषयका सन्दर्भ पुस्तक र २० हजार पुस्तकहरु पढ्न मिल्ने गरि विद्युतिय पुस्तकालय चलाउने तयारीमा छौँ ।’ अध्यक्ष राजमण्डारीले भने, ‘भवन निर्माणको रकम जुटाउन जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदसँग पनि सक्दो सहयोग गर्न अपिल गरेका छौँ, सहयोगको प्रतिबद्धता आएको छ ।’ उनले बागलुङमा २००८ सालमा पहिलो पटक प्रकाशित भएको सहिबाटो नामक हस्तलिखित साप्ताहिक पत्रिका देखि अहिलेसम्म जिल्लामा प्रकाशित सवै पत्रिका संकलन गरेर सुचना केन्द्रमा राखिने बताए । विद्युतिय पुस्तकालयका लागि डेनमार्कका पर्यटनदुत तथा ईलाईब्रेरी फाउण्डेशन युरोप संयोजक सोम सापकोटाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएकोे राजभण्डारीको भनाई छ । सुचना केन्द्रका लागि ग्लोबल आईएमई बैङ्क लिमिटेडका अध्यक्ष चन्द्र ढकालसँग कुराकानी भएको उनले बताए ।
Previous Article२०७३ कात्तिक १८ गते बिहीबारको राशिफल
Next Article शान्ति र स्थायित्वका लागि सबैको साथ -मुखर्जी