म्याग्दीको सदरमुकाम बेनीमा दु्ई दिनसम्म सञ्चालित भाषा तथा प्रविधिसम्बन्धी तालिम आइतबार सकिएको छ । क्रियाशिल पत्रकारको क्षमता अभिवृद्धिका लागि भाषा र प्रविधिको प्रयोगमा दख्खल बनाउने उद्देश्यसहित जिल्ला समन्वय समितिको सहयोग र नेपाल पत्रकार महासंघ जिल्ला शाखाको आयोजनामा शनिबारदेखि तालिम चलाइएको हो ।
तालिमको सहजीकरण गर्दै अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका सम्पादक अखण्ड भण्डारीले समाचारमा सरल शब्द, छोटा वाक्य र शब्द दोहो¥याउन नहुनेमा जोड दिए । तालिमको पहिलो दिन उनले समाचारको भाषा, लेखनशैली, विषय उठानका बारेमा सहजीकरण गरेका थिए । यसैगरी प्रशिक्षक रजनीश भण्डारीले पछिल्लो समय आएको प्रविधि अनुसार चल्नुपर्ने बताउँदै मोबाइल पत्रकारिताको विषयमा सहजीकरण गरे । दोस्रो दिन उनले फोटो तथा भिडियो इडिटिङको प्रयोगात्मक अभ्यास पनि गराएका थिए ।
तालिमको समापन गर्दै पत्रकार महासंघका जिल्ला अध्यक्ष तारानाथ शर्माले तालिमका क्रममा सिकेका ज्ञान, सिपलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरेका छन् । उनले आगामी दिनमा समेत महासंघले नयाँ पत्रकार उत्पादनका लागि आधारभूत तथा क्रियाशिल पत्रकारलाई लक्षित गरेर व्यावसायिक पत्रकारिताका विषयमा आवश्यक तालिम सञ्चालन गर्ने बताए ।
महासंघका निवर्तमान अध्यक्ष सुरत केसीले पत्रकारिता क्षेत्र प्रविधिमैत्री, व्यावसायिक र अनुसन्धानमूलक हुनुपर्नेमा जोड दिँदै क्रियाशिल पत्रकारका लागि यस तालिमले पूनर्ताजकी प्रदान गरेको बताएका छन् । महासंघका अध्यक्ष शर्माको अध्यक्षता र सचिव गोरखनाथ सुवेदीको सञ्चालनमा सम्पन्न तालिममा सहभागी गोपाल आचार्यले मन्तव्य राखेका थिए । दुई दिनसम्म चलेको तालिममा जिल्लाको स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा क्रियाशिल पत्रकार एवं सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।