धान रोपार्इँ गर्नका लागि पछिल्लो समय मिनीटेलर हलो र ट्याक्टरको प्रयोग बढ्दै जान थालेको छ । आधुनिक प्रविधिको बढ्दो प्रयोगसँगै हिमाली जिल्ला म्याग्दीमा रोपाइँको रौनक पनि फेरिएको छ । नेपालीहरुको मुख्य बाली धान रोप्न खेत जोत्नका लागि परम्परागत रुपमा प्रयोग हुँदै आएका हलगोरुको ठाउँमा अब खेतका गह्रा र फोहोटामा पनि ट्याक्टर र मिनीटेलरको प्रयोग हुन थालेको हो ।
गाउँमा हलगोरु पाल्ने चलन हराउँदै गएको छ भने हलो, जुवा लगायतका परम्परागत कृषि सामग्री निर्माण गर्ने रैथाने सीप पनि विस्थापित भएको छ । कृषिमा प्रविधिको प्रयोग बढ्दै जाँदा कृषकलाई सुविधा पुगेको छ । कृषकहरु निर्वाहमूखी कृषि प्रणालीबाट विस्तारै व्यावसायिक कृषितर्फ आकर्षित हुँदै गएका छन्भने परम्परागत तरिकाले खेती लगाउँदा व्यहोर्नुपर्ने धेरै किसिमका झन्झटहरुबाट पनि मुक्ति मिलेको कृषकहरु बताउँछन् ।
बेनी नगरपालिका–४, सिङ्गाका नारायण पौडेलले पहिला–पहिला खेत जोत्नका लागि हली र गोरु खोज्नुपर्ने, गोरुलाई घाँस काट्नुपर्ने र दिनभरी गोरुको अघिपछि हिलोमा ओहोरदोहोर गर्नुपर्ने झन्झट हुने गरेपनि मिनीटेलरबाट खेत जोतेर रोपाइँ गर्दा धेरै सहज भएको अनुभव सुनाए । कृषकहरुका अनुसार गोरुले जोत्दा ६÷७ दिन लाग्ने मेलो (खेत) मिनीटेलर वा ट्याक्टरबाट एकै दिनमा सकिने, लागत र झन्झट पनि कम लाग्ने हुँदा परम्परागत हलगोरुको साटो यान्त्रिक प्रविधितर्फ आकर्षण बढेको पाइएको छ ।
वैदेशिक रोजगारीका कारण गाउँमा कृषि, मजदुर र जनशक्तिको अभाव हुन थालेको बेला मिनीटेलर एवं ट्याक्टर उपयोगी माध्यम भएको स्थानीय कृषकहरुको भनाइ छ । अहिले म्याग्दीका सबै गाउँहरुमा मिनीटेलरको प्रयोग व्यापक रुपमा हुन थालेको छ । हलगोरु नारेर खेती गर्ने चलन हराउँदै गएको छ । कृषिमा आएको यान्त्रिक प्रयोगका कारण गोरु पाल्ने, बाह्रै महिना घाँसपात गर्ने र गोठाला राख्नुपर्ने झन्झट समेत हटेको कृषकहरुले बताएका छन् ।
प्रविधिको प्रयोग गरेर खेती गर्न थालेपछि म्याग्दीमा वर्षौंदेखि बाँझो रहेको जमिनमा पछिल्लो समय खनजोत गरी खेती गर्न थालिएको छ । आग्र्यानिक कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको मंगला गाउँपालिकाले कृषिमा यान्त्रिकरण र व्यावसायीकरण गर्दै बाँझो जमिनलाई पनि हराभरा बनाउने अभियान थालिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिए । म्याग्दीका ६ वटै स्थानीय तहले कृषिमा प्रविधिको प्रयोगलाई जोड दिँदै मिनीटेलरदेखि विभिन्न किसिमका कृषि उपकरणहरु कृषकलाई निःशुल्क वा अनुदानमा वितरण गरेका छन् ।
म्याग्दीको ३ हजार ८ सय ९२ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । गतवर्ष म्याग्दीमा १३ हजार ९ सय ७८ मेट्रिक टन धान उत्पादन भएको ज्ञान केन्द्रका प्रमुख गोविन्दराज कोईरालाले बताए । म्याग्दीमा गौरीया, जर्नेली, गुडुरा, जेठोबूढो, मार्सी, ताकमारे, भट्टे, पहेँले लगायतका रैथाने र छुम्रुङ, माछापुच्छ«े, अन्नपूर्ण ३, खुमल १०, लुम्ले २ गरी उन्नत जातको धान खेती हुँदै आएको छ ।
Previous Articleओमकुमारी शान्ति कोषलाई तीन लाख सहयोग
Next Article दरबाङको छ्यारछ्यारेमा बहुउपयोगी खेलमैदान निर्माण